चितवन /
वरिष्ठ लोकगायक तथा गोर्खा पल्टन र परदेशीजस्ता सफल चलचित्र बनाइसकेका गायक तथा निर्देशक नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ ले शुक्रबार चितवनका पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ ।
यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले विदेशमा पढ्न जाने विद्यार्थीहरुको कथा बोकेको बताएको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले परदेशी र ‘परदेशी २’ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको जानकारी दिए । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको रायमाझीले बताए ।
गीतसंगीतलाई चलचित्र जसरी छनक दिने गायक तथा संगीतकार एवम् ‘परदेशी २’ बाट पहिलो पटक चलचित्रमा पाइला चालेका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेर जोडिएको जानकारी दिए । गीतसंगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र ‘परदेशी २’ मा जोडिँदा चुनौती नै मोलेर यस चलचित्रमा आवद्ध भएको उनले बताए । ‘नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन’ सपुतले भने । चलचित्रमा उनलाई एउटा विदेशिने विद्यार्थीको भूमिकामा देखिने जानकारी दिए । परदेश हुदाँ घर, साथी, पढाई साथै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको उनले बताए ।
नायिका केकी अधिकारीले चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको जनाइन् । चलचित्रमा एकजना परदेशी हुँदा उसको परिवार त सधै उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि चलचित्रमा देखाएको उनले बताइन् । साथै देशमै गरे यही सुन फल्छ भन्ने मूलमर्म चलचित्रले बोकेको अधिकारीले बताइन् ।
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी र वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल {अग्रवाल} र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् ।
मानकृष्ण महर्जनको छायांकन, बिबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र युनिटले बिहीबार र शुक्रबार चितवनमा केही कलेजहरुमा ‘विदाई’ शीर्षकको गिती नाटक प्रस्तुत गरेको थियो ।
कार्यक्रम चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।