पोखरा /
पोखराका पत्रकार कमल पौडेल अथक राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था नेष्डोद्धारा सम्मानित भएका छन् ।
४४ औं सामाजिक सेवा दिवसको अवसरमा शनिवार पोखरामा आयोजित एक विशेष समारोहका बीच संस्थाले अथकलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको हो ।
विगत दुई दशक भन्दा बढी पोखरामा रहेर सञ्चारकर्म मार्फत आम नागरिकलाई सुसूचित गराउन विशिष्ट योगदान पुर्याएको भन्दै पत्रकार अथकलाई सम्मान गरिएको संस्थाका अध्यक्ष विश्वप्रकाश प्रसाइँले जानकारी दिए ।
अथक रेडियो सराङकोटका समाचार प्रमुख एवं समयदृष्टि डटकमका प्रधानसम्पादक हुन् । यसैगरी संस्थाले लोकगायिका सरस्वती लामिछाने र पर्वतका पर्यटन व्यवसायी शिव शर्मालाई पनि सम्मान गरेको छ । साथै संस्थाले देशका विभिन्न जिल्लाका १४ जना क्यान्सर प्रभावितलाई जनही ७ हजार सहयोग समेत गरेको छ ।
सो अवसरमा वोल्दै संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाइँले लघुवित्त मार्फत देशका १७ जिल्लाका ८० हजार घर परिवार लाभान्वीत रहेको वताए । उनले ४२० जना कर्मचारी प्रत्यक्ष रोजगारीमा रहेको वताए ।
राज्यले गर्न नसकेको काम लघुवित्त मार्फत संस्थाले गरेको उनको दावी छ । सयौं रोजगारी सृजना गरी गरीब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न नेष्डो सफल रहेको उनले जिकिर गरे ।
नेपाली कांग्रेस कास्कीका पूर्व सचिव पोषनाथ शर्माले राजनीतिमा विकृति बढेको भन्दै त्यसलाई निरुत्साहित वनाउन पत्रकारको उल्लेख्य भूमिका रहने वताए ।
उनले देशमा परिवर्तन आएपनि सामान्य नागरिकको जीवनस्तरमा परिवर्तन आउने काम सत्तामा वसेकाहरुले गर्न नसकेको टिप्पणी गरे । उनले गाउँ घरमा बाटोघाटो पुगेपनि मानिस नहुँदा सुनसान भएको र राज्यको ध्यान त्यता केन्द्रीत हुन नसकेको वताए ।
सम्मानित पत्रकार कमल पौडेल अथकले जीवन धान्ने विभिन्न विकल्पका वावजुद पनि पत्रकारिता पेशा अँगालेको वताए । उनले नेपाली माटोमा बसेर संघर्षपूर्ण यात्रा गर्नु र समाजलाई सही सूचना प्रदान गर्ने काम चुनौतिपूर्ण रहेको वताए । हजारौं युवा दिनानुदिन पलायन हुँदा राज्यले उनीहरुको लागि स्वदेशमा वस्ने वतावरण वनाउन नसक्नु दूर्भाग्य भएको वताए ।
संस्थाका अध्यक्ष विश्वप्रकाश प्रसाइँको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा सेवी युवा नेता प्रमोद पाण्डे, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष उत्तमप्रसाद अधिकारी, बाजुङ पर्वत सम्पर्क मञ्चका अध्यक्ष वीरेन्द्र एलसी, शाखा प्रवन्धक निर्मला गौतम, सहायक प्रवन्धक सुष्मा प्रसाइँ उपाध्यक्ष नारायण प्रसाइँ, सामाजिक सेवा दिवस समारोह समितिका अध्यक्ष सावित्री खत्रीक्षेत्री लामिछाने लगायतले वोलेका थिए ।