सुचना, समाचार र मनोरन्जन
Sarangi

यस वर्ष ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

गलकोट/

बागलुङको निसीखोला गाउँपालिका-५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् ।

उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उनको स्याउ बगान रित्तै छ ।

गत चैत र वैशाखमा परेको असिनाका कारण उहाँको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उनले विसं २०४८ देखि  परम्परागत तरिकाले स्याउखेती गर्दै आएका छन् । उनको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउखेती छ ।

दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको बताए ।

‘गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो’, किसान बुढाथोकीले भने, ‘ चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो ।’

असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको अगुवा स्याउ किसान बुढाथोकीले बताए । परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए ।

उनले आफ्नो व्यक्तिगतरूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राखेका छन् ।

Leave A Reply

Your email address will not be published.