पोखरा /
मणिपाल अस्पतालमा उपचारत बिरामीको मृत्युपछि भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएको एक चिकित्सक रिहा भएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर दिनेश कुमार विकलाई रिहा गरिएको हो ।
यद्यपी चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पीडित परिवार पक्षका विनय गुरुङ माथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ “संशोधनसहित” कसुरमा अनुसन्धान भइरहेको छ ।
रिहा भएका डाक्टरलाई नाराबाजीमा संलग्न भएको भन्दै कास्की प्रहरीले गएराती पक्राउ गरेको थियो । लमुजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि पीडित परिवार र आफन्त अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए। त्यसपछि तनावग्रष्त बनेको मणिपाल शिक्षण अस्पतालमा भिड नियन्त्रणका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो ।