सुचना, समाचार र मनोरन्जन
Sarangi

पढ्ने इच्छालाई छेकेन उमेरले

तर, उनी तिनै बालबालिकाहरूसँग ‘क’, ‘ख’ सिक्न आएकी विद्यार्थी हुन्। कक्षाकोठामा शिक्षकरशिक्षिकासँग मात्र होइन दुजीकुमारी तिनै बालबालिकाहरूसँग पनि वर्णमाला र गणीत सिक्छिन्।

वरिपरि साना बालबालिका छन्। तिनै बालबालिकाको बीचमा छन् ५० वर्षीया दुजीकुमारी ओली। बालबालिकासँग कक्षाकोठामा भेटिँदा उनी शिक्षिका हुन् भन्ने लाग्न सक्छ।

तर, उनी तिनै बालबालिकाहरूसँग ‘क’, ‘ख’ सिक्न आएकी विद्यार्थी हुन्। कक्षाकोठामा शिक्षकरशिक्षिकासँग मात्र होइन दुजीकुमारी तिनै बालबालिकाहरूसँग पनि वर्णमाला र गणीत सिक्छिन्।

दुजीकुमारी बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा अध्ययनरत छिन्। कोहलपुर नगरपालिका(११ सैनिक टोलमा बस्ने उनी बिहान घरधन्दा सक्काएर विद्यालय आउँछिन्।

उनलाई यो उमेरमा विद्यालय जान उनका ६ वर्षीय नातीले हौसाएका हुन्। दुजीले एकदिन आफ्नो नातीलाई गृहकार्य गरेन भनेर कराएकी थिइन्। त्यतिबेला उनका नातीले लगाएको वचन नै प्रेरणा बन्यो।

‘तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेर नातीले जवाफ फर्काएको थियो,’ उनले भनिन्। नातीको कुराले उनको चित्त दुख्नुभन्दा पढ्नुपर्छ भन्ने भावना जागृत गरायो र विद्यालय भर्ना भइन्।

दुजीकुमारी पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीप्रतिको जिम्मेवारी निभाउँदै आएकी छन्। सानो उमेरमा उनलाई पढ्न मन नलागेको पनि होइन, त्यतिबेला परिस्थिति बाधक बन्यो।

यसपालि पढ्न जान्छु भन्दा उनका छोराले सुरूमा मुख अमिल्याएका थिए। आजकाल उनी पनि आमालाई लेखपढ गर्न सिकाउँछन्। विद्यालयमा सहपाठी पनि नातीनातिना उमेरका भएकाले सिक्न अझै सहज भएको उनी बताउँछिन्।

‘मलाई धेरै कुरा आउँदैन। नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्,’उनले भने, ‘ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ।’

आफ्ना साना उमेरका साथीबाट छोटो समयमै धेरै कुरा सिकेको उनी दुजीकुमारी बताउँछिन्। अहिले उनी बाह्रखरी पढ्न र लेख्न सक्ने भएकी छन्। गणीतका अंकहरू पनि लेख्न र भन्न सक्छिन्। आधा अक्षरहरू चिन्न र भन्न भने अझै गाह्रो हुने उनले बताइन्।

पढाएको कुरालाई छिट्ट बुझ्ने र सिक्ने क्षमता भएकाले दुजीकुमारी‍ कक्षा १ राम्रै अंक ल्याएर पास हुने उनकी शिक्षिका गीता श्रेष्ठको विश्वास छ।

‘कक्षामा पढाएको पनि ध्यान दिएर सुन्नुहुन्छ र होमवर्क पनि सबै गरेर आउनुहुन्छ,’ शिक्षिका श्रेष्ठले भनिन्। उनका अनुसार एसइई पास गर्ने दुजीकुमारीको ठूलो धोको छ।

दुजीकुमारी जस्तै कोहलपुर-५ कि प्रेमकुमारी गिरी पनि सोही विद्यालमा ६ कक्षामा पढ्छिन्। उनलाई पनि बिहान विद्यालय जान भ्याइनभ्याइ हुन्छ।

प्रेमकुमारीको १३ वर्षको उमेरमा विवाह भएको थियो। त्यतिबेला उनलाई पढ्ने खुब मन थियो तर पाइनन्। विवाहपश्चात पारिवारिक जिम्मेवारीले बाँधिएकी उनले १६ वर्षकै उमेरमा पहिलो सन्तानका रूपमा छोरी जन्माइन्।

सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाइदियो। अहिले उनका ६ सन्तान छन्। एउटा छोरा र पाँचवटी छोरीलाई हुर्काउँदैमा उनको पढ्ने रुचिमात्रै मरेन, उमेर पनि ढल्कँदै गयो।

सानैमा अधुरो भएको पढाइलाई उनले घरपरिवार र सन्तानप्रतिको जिम्मेवारीकै कारण पूरा गर्न नसकेको बताइन्।

‘विवाहपछि पनि पढ्छु भनेर धेरै कोसिस गरें, तर घरमा त्यो वातावरण नै भएन। श्रीमानको माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई शान्त गर्न सकिनँ,’ उनले भनिन्, ‘भगवानले तँ आँट म पुर्‍याउँछु भन्नुहुन्छ। आज मलाई त्यस्तै भएको छ। मैले आँटे भगवानले मलाई यो स्कुलसम्मको बाटो देखाइदिनुभयो।’

पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ प्रेमकुमारी। आकाशे रङको कुर्तामा गाढा निलो रङ्को डुपट्टा र सुरुवाल लगाएर हातभरि कापी किताब बोकेर विद्यालय जाँदा आफूलाई गर्व महशुस हुने उनी बताउँछिन्।

उबेलामा पनि तीन कक्षा पास गरेकी थिइन् प्रेमकुमारीले। पढ्ने दृढ इच्छा देखेर जनज्योती माविका प्रधानाध्यापकले उनलाई पाँच कक्षामा भर्ना हुन अनुमति दिए।

प्रेमकुमारीको पढ्ने इच्छालाई उनकी श्रीमान जनकबहादुर रावलले पनि सहजै स्वीकार गरेका थिए। त्यतिबेला उनलाई श्रीमती जिस्किएको भन्ने लाग्थ्यो रे।

‘स्कुल गएर पढ्छुभन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उहाँले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उहाँले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिनुभयो,’ खुसीको आँशु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमानले पढ्नलाई अनुमति दिएको कुरा सुनाए।

प्रेमकुमारीका अनुसार आजकल जनकबहादुर श्रीमतीलाई विद्यालय जाने समय सम्झाउँछन्। साँझ श्रीमती कतिबेला फर्कन्छन् भनेर पर्खेर बस्छन्।

‘बुढेसकालमै भए पनि श्रीमान्ले मेरो पढाइका लागि दिनुभएको ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु,’ उनले भनिन्। प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ।

प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्छिन् हरिकला नेपाली। ३६ वर्षीया उनी एक छोरीकी आमा हुन्। पढ्न मन भएपनि उमेर धेरै भएकाले सुरूसुरूमा उनलाई विद्यालय जान अप्ठ्यारो लाग्थ्यो।

तर ६१ वर्षकी प्रेमकुमारी विद्यालय पोसाकमा कापीकिताब बोकेरे गएको देखेर उनीमा पनि आत्मविश्वास जगायो।

‘३६ वर्षकी भइसकेकी थिएँ। स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ। उहाँलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो,’ हरिकलाले भनिन्, ‘छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ। कुनै पनि हालतमा एएसइई पास गर्नुछ।’

उनकी श्रीमान् वैदेशिक रोजगारीमा छन्। उनले पनि आफ्नी श्रीमतीको पढ्ने रहरलाई पूरा गर्न सकारात्मक साथ सहयोग गरिरहेका छन्।

हरिकला आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगीसरा खाणलाई मान्छिन्। आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण।

ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन्। ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा। बिरामी हुँदाबाहेक उनीहरू नियमति विद्यालय आउने प्रधानाध्यापक ढकालले बताए।

‘पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन। लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ,’ उनले भने।

सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन्।

रासस /

Leave A Reply

Your email address will not be published.