पोखरा /
पोखराको गहनाको रुपमा रहेको ताल बाराही मन्दिर पुनस्निर्माण भैरहेको छ । मन्दिर परिसरलाई व्यवस्थित बनाउनको मास्टर प्लान बनाएर सोही अनुसार कार्य सुरु गरिएको हो ।
यसैक्रममा बिहीबार मूल मन्दिरको जग पुजा शुभारम्भको काम धार्मिक विधिअनुसार गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा जग पुजा शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा धार्मिक विधि भागवत भाष्कर कमल नयन गौतमले पुरा गराएका थिए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले ताल बाराही मन्दिर पोखराको गहना भएको बताए । मन्दिर पुनस्निर्माणको लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताएका उनले पैसाको चिन्ता नलिन आग्रह समेत गरें ।
मास्टर प्लान अनुसारको मन्दिर र परिसरमा रहने संरचना निर्माणको लागि ९ करोडको लागत अनुमान गरिएको श्री ताल बाराही मन्दिर गुठी व्यस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवरले जानकारी दिए।
अध्यक्ष कुँवरका अनुसार मन्दिर पुनस्निर्माणको काम दुई वर्षमा सकिनेछ । मन्दिरको लागि आवश्यक पर्ने रकम जुटाउन आफुहरु लागि परेको उनले सुनाए । ‘अहिले मन्दिरमा माइकिङ गरेर केही रकम संकलन गरिएको छ, आमा समुहबाट केही रकम प्राप्त भएको छ, पुरातत्व विभागबाट ९ लाख रुपैयाँ प्राप्त भएको छ, अन्य सरकारी निकायबाट सहयोग प्राप्त भएको छैन’ कुँवरले नेपाल अहिलेलाई भने ।
मन्दिर साढे १३ फिट चौडाइको बन्नेछ भने १८ इन्चको गाह्रो लगाइनेछ । तालको बिचमा भएकोले अलिकति खन्ने बित्तिकै पानी आउँछ त्यसले समस्या हुने गरेको समेत उनले बताए । यसअघिको मन्दिर भुकम्पले चेतिएको हुनाले काठ ढुंगा नयाँ हातले कुँदेर लगाइने र मन्दिरको लागि आवश्यक पर्ने काठपनि टेन्डरबाट अर्डर गिरसकेको उनले खुलाए । अबको कम्तिमा २ सय वर्ष सम्म मन्दिर पुनस्निर्माण गर्न नपरोस् भन्ने हिसाबले प्रयास भैरहेको उनको भनाइ छ ।
अब मन्दिर परिसरको माथिल्लो भागमा मास्टर प्लानमा भएको डिजाइन अनुसारको गणेश मन्दिर, मुल मन्दिर र होमनकुण्ड निर्माण हुनेछ । यसैगरी अन्डर ग्राउन्डमा सभाहल, बैठककक्ष, फोटोग्राफी, फूलप्रसाद, शौचालय लगायतका संरचना निर्माण हुनेछन् ।
ताल बाराही मन्दिर भित्र चढाएको भेटी पुजारीले नै लिने गरेको समितिका सूचना अधिकृत राजेन्द्र खत्रीले बताए । त्यसरी प्राप्त भेटी मध्ये समितिलाई प्रति दिन १ सय ५० रुपैयाँ दिने गरेको खत्रीले खुलाए ।
मन्दिर पुनस्निर्माणको लागि समितिले माइकिङ गरेर भक्त्तजनबाट सहयोग रकम संकलन गरिरहेको छ । अहिले मन्दिरमा भक्त्तजन पुग्ने क्रम बढ्न थालेको र कोजागत पूर्णिमासम्म यो संख्या धेरै बढ्ने समितिको अपेक्षा छ ।
ताल बाराही मन्दिरमा कोजागत पूर्णिमाको दिनमा विशेष भिँड लाग्ने गर्दछ । तालको बिचमा रहेको यस मन्दिरमा दर्शन गर्नको लागि डुंगा मार्फत जानुपर्छ । डुंगा मार्फत मन्दिर पुगरे फर्केको १ सय ५ रुपैयाँ भाडा लाग्छ ।
नेपाल अहिलेबाट