सुचना, समाचार र मनोरन्जन
Sarangi

निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो: अध्यक्ष सिंह

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारिएको आरोप लगाएका छन् । जनकपुरधाममा मधेस प्रदेश निर्माण व्यवसायी महासङ्घको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुगेको आरोप लगाए ।

कोरोना सङ्क्रमणको समयमा प्रत्येक क्षेत्र प्रभावित भएको तर सरकारले निर्माण व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राखेर कुनै प्रकारको सहुलियत नदिँदा कतिपय निर्माण व्यवसायीहरूको अवस्था नाजुक भएको बताए । राज्यले उक्त समयमा ब्याजदरमा सहुलियत तथा समय सीमा थप गरेको भए निर्माण व्यवसाय धरासायी नहुने बताए ।

समृद्धिको संवाहक निर्माण व्यवसायी भएपनि सरकारका नीति,नियमहरू समायानुकुल नहुँदा थप जटिलता देखिएको बताए । पछिल्लो समयमा सार्वजनिक खरिद नियमावलीमा अझै त्रुटिहरू रहेको उनले गुनासो गरे ।

उनले निर्माण उद्योगहरूको मूल समस्या ‘लो बिड’ रहेको टिप्पणी गरे । समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको साथमा महासंघ नरहेको उनले स्पष्ट पारे । ठेक्का हाल्ने वैज्ञानिक विधि आवश्यक रहेको र प्रक्रिया नपुगेको ठेक्का रद्द गर्नुपर्ने बताए ।

उनले साना निर्माण व्यवसायीहरूलाई उपभोक्ता समितिको आडमा विस्थापित गर्ने काम भइरहेको अध्यक्ष सिंहले आरोप लगाए । निर्माण व्यवसायी सबल नभए मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने भएकाले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.