सुचना, समाचार र मनोरन्जन

हमास समूहको आक्रमणबाट मारिएका नेपालीको पहिचान गर्न आफन्तको डीएनए इजरायल पठाइयो

काठमाडौँ/

हमास समूहको आक्रमणमा परी मारिएका ५ नेपालीको शव पहिचान गर्न आफन्तहरूको डीएनए इजरायल पठाइएको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी मारिएर ५ जना नेपाली विद्यार्थीको पहिचान गर्न उनीहरूका आमा बुबाको डीनएन स्वाब इजरायल पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मारिएका १० जना मध्ये ५ जनाको पहिचान भएर शव नेपाल ल्याइएको छ । तर, शवको पहिचान गर्न नसकिने अवस्थामा रहेका ५ जनाको शव पहिचान गर्न आफन्तको डीएनए पठाइएको हो ।

आक्रमणपछि सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको आमा बुबाको समेत डीएनए स्वाब पठाइएको छ । आक्रमणपछि सम्पर्कविहीन बनेका जोशीको अहिलेसम्म पत्ता लाग्न सकेको छैन। उनलाई हमास समूहले नै अपहरण गरेर लगेको हुनसक्ने आशङ्का गरिएको छ । तर, यकिन भने हुन नसकिएको मन्त्रालयले जनाएको छ ।आक्रमणमा परी विभिन्न देशका नागरिकहरू मारिएका छन् । उनीहरूको शव पहिचान गर्न निकै गाह्रो भइरहेको छ । त्यसैले पहिचानका लागि भन्दै इजरायलले आफन्तको डीएनए मगाएको थियो ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थी मारिएका थिए । मारिएका मध्ये हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल ल्याइएको छ ।

उक्त आक्रमणमा परी मारिएका धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव पहिचान हुन सकेको छैन् । उनीहरूको पहिचानका लागि आमा बुबाको डीएनए इजरायल पठाइएको हो । शवको डीएनए र नेपालबाट पठाइएको आफन्तको डीएनए म्याच खाएको खण्डमा शव नेपाल पठाइने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

सम्पर्कविहीन जोशीको खोजी कार्य समेत जारी रहेको दूतावासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.