सुचना, समाचार र मनोरन्जन

अहिले पनि बामपन्थी एकताको पक्षमा छौंः माधव नेपाल

काठमाडौं /

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले पनि बामपन्थी एकताको पक्षमा नै रहेको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कमिटीले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधव कुमार नेपालले वामपन्थी एकताको पक्षमा आफूहरु रहेको र फुट र विभाजनको पक्षमा नरहेको बताएका हुन्।

उनले जसपा विभाजित भएपछि समाजवादी मोर्चाको भविष्यमा संकट निम्तिएको र मोर्चाभित्र पनि छलफल गर्ने वातावरण बन्न नसकेको जिकिर गरे। अध्यक्ष नेपालले जसपा नेपालको फुटले सत्ता समिकरणमा केही जटिल अवस्था सिर्जना भएको उल्लेख गरे।

उनले समग्र सहकारी समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषीमाथि कडा कारबाही गर्न बैठकले माग गरेको जानकारी दिए। उनले देशभक्त शक्तिहरु एकजुट भएर राष्ट्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको जनाए। संसदमा देखिएको गत्यारोध अन्त्यका लागि सवै पक्ष गम्भीर हुनुपर्ने उनले बताए।

बैठकले लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग माग गरेको छ।

बैठकले पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउने निर्णय गरेको छ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि बैठकले दिएको छ।

Leave A Reply

Your email address will not be published.