पोखरा /
विश्व वातावरण दिवसका अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल लगाइएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन {आइएचसी} र क्युटो युनिभर्सिटी जापानका प्रोफेसर पाक्या शुमा लगायतले पोखरा–जापानमैत्री पार्क ‘कोमागाने’मा २३ वटा साकुरा लगाउनुभएको हो । उता पोखरा वडा नं. ६ र मितेरी आमा समूहको सक्रियतामा बसुन्धारा पार्कमा २५ वटा साकुरा लगाइएको छ ।
पोखरा जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले पोखरा–जापान मैत्रीपार्क ‘कोमागाने’ मा जापानी राष्ट्रिय फूल ‘साकुरा’ लगाइएको नगरप्रमुख आचार्यले बताए । पोखराको हावापानीमा साकुरा फुल्ने प्राविधिक तथा वातावरणीय अध्ययन पश्चात् जापानबाट यो फुल ल्याइएको उनले बताए । फुल्दा असाध्यै सुन्दर देखिने साकुरा पोखरा–जापानको साइनोलाई थप मजबुत बनाउने सेतुका रूपमा आफूले लिइएको उनले बताए ।
प्रमुख आचार्यले साकुरा रोपणसँगै पोखरामा २ लाख २६ हजार बिरुवा रोप्ने ग्रिन पोखरा, क्लिन पोखराको मेगा प्रोजेक्ट सुरु भएको घोषणा समेत गरे । यस परियोजनाको शुभारम्भ सुखद भएको उल्लेख गर्दै उनले महानगर क्षेत्रमा सार्वजनिक स्थल, खुल्लाचौर तथा पाखा पखेरा, नदी तथा राजमार्ग किनार लगायत क्षेत्रमा विभिन्न प्रजातिका २ लाख २६ हजार बढी बिरुवाहरू लगाइने उनले बताए।
प्रोफेसर शुमाले साकुरा हिमालयको काखमा फुल्ने सयौँ प्रजाति भएको सुन्दर फुलका रूपमा चित्रण गर्दै हिमालयको देश नेपालमा यसको विकास हुनु साकुरा आफ्नो घर फर्किएको रूपमा लिनु पर्ने बताए । साकुराका लागि पोखरामा उत्तम वातावरण रहेको उनले बताए । अव यसलाई पार्कमा मात्र होइन अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने उनले बताए ।
जापानबाट १०० साकुराका बिरुवाहरू पोखरा ल्याइएको छ । केही बिरुवाहरू रोप्न बाँकी रहेको र उपयुक्त स्थानमा ती बिरुवाहरू लगाइने सहरी विकास, पर्यटन तथा वातावरण महाशाखा प्रमुख भरतराज पौडेलले बताए ।
साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएको छ । नेपालका गाउँ गाउँमा साकुरा रोपेर दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहना उसको छ । नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्य लिइएको हो ।