काठमाडौँ /
नेकपा {एमाले}को सूचना प्रविधि तथा कार्यालय व्यवस्थापनबारे अध्ययन गर्न माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटा एमाले मुख्यालय च्यासल पुगेका छन् ।
शुक्रबार दिउँसो सापकोटाले एक घण्टा एमाले कार्यालय सञ्चालनको विषयबारे चासो व्यक्त गरेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । माओवादीका प्रचार विभाग प्रमुखसमेत रहेका सापकोटाले अवलोकनका क्रममा एमालेले प्रयोग गरेको आइटी, सामाजिक सञ्जाल र अफिस सञ्चालनको विषयमा चासो राखेको रिमालले बताए ।
‘उहाँ एमालेले आइटीको प्रयोग कसरी गरेको छ भनेर जानकारी लिन आउनुभएको रहेछन् । यस सम्बन्धमा मेरो केही ज्ञान भएकाले प्रविधिको प्रयोग र कार्यालय सञ्चालनको विषयमा जानकारी गराएँ’, रिमालले भने, ‘प्रविधिमा उहाँको पनि चासो रहेछ । आइटी सिस्टम र सोसियल मिडियामा चासो राख्नुभयो । आफूले जानेको विषयमा उहाँलाई संक्षिप्तमा बतायौँ । एमालेले अफिस कसरी सञ्चालन गरेको छ भन्ने विषयमा पनि उहाँले चासो राख्नुभयो ।’
एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात् गर्दै चलेको सापकोटाले अनुभव गरेको रिमालले बताए ।