पोखरा /
पोखराको पर्यटन प्रबद्धन गर्ने उद्देश्यले हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर २३ फेवाफाँटमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब पामे नजिक मार्गी तर्फको फेवा फाँटमा हुन लागेको हो ।
१९ औं रोपाईं महोत्सब स्थानीय आयोजकको रुपमा मार्गी बगर टोल बिकास संस्था पोखरा– २३ रहेको छ । महोत्सबमा धान रोप्ने सहित विभिन्न प्रतियोगिताहरु र मनोरन्जनात्मक कार्यक्रम हुने छन् ।
महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसितान्ने, हिले दौड सहित मनोरञ्जन लिन स्वदेशी र बिदेशी पर्यटकहरुको उल्लेखनीय सहभागिता रहने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । रोपाइ महोत्सवमा करिब १० हजार भन्दा बढी मानिसले सहभागिता जनाउने उनले बताए ।
हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र बिदेशी पर्यटकहरुको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुने छन् । पोखराको लेकसाइडबाट खहरे हुँदै पामे नजिक पुगेपछि दक्षिण तर्फ लागेपछि फेवाफाँटको मार्गीतर्फ पुगिन्छ ।
रोपाइ महोत्सव सम्पन्न गर्न पोखरा र्पयटन परिषदका उपाध्यक्ष तारानाथ पहारी संयोजकमा मूल ब्यबस्थापन समिति गठन गरेको छ । समितिको सह–संयोजकमा हरेराम अधिकारी र जीबनराज सापकोटा रहेका छन् । महोत्सबमा गायिका समिक्षा अधिकारी र अन्य लोकप्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति रहने छ ।