काठमाडौं /
नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँएसँगै क्रियाशील एव समावेशी पत्रकारहरुले महासंघको गरिमा रक्षा गर्न सिन्डीकेटधारीहरुलाई परास्त गर्ने अभियानमा सहभागी हुन पत्रकारहरुलाई आह्वान गरेका छन्।
क्रियाशील पत्रकारहरुले वृहत्तर छलफल गरी पत्रकार र पत्रकारितासँग आबद्ध सबै संघ संगठन र पक्षसँग वार्ता, सम्वाद र सहकार्यका लागि प्रारम्भिक वार्ता गर्न आठ सदस्यीय वार्ता टोली समेत गठन गरेको विज्ञप्तिमार्फत जनाएका छन्। बृहत्तर मोर्चा निर्माण गर्न र महासंघको महाधिवेशनमार्फत गरिमा रक्षाका लागि देशभरीका सम्पूर्ण पत्रकारहरुलाई सहभागिताका लागि आव्हान गरिएको छ।
‘नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको मिति २०८१ असार २२ गते हुन गईरहेको तीनै तहको निर्वाचन क्रियाशील पत्रकारहरुका लागि गौरवसँगै चुनौती रहेको जनाउँदै नेपाली पत्रकारितामा मिडिया संकट, क्रियाशील पत्रकारका सुरक्षा चुनौती र पेशागत सुरक्षा संकट निवारणका लागि क्रियाशील पत्रकारहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ।’, विज्ञप्तिमा भनिएको छ। यही आवश्यकता पूरा गर्न सबै श्रमजीवी, व्यवसायिक पत्रकारको साझा समावेशी मोर्चा पत्रकार महासंघ बन्न जरुरी रहेको बताइएको छ।
‘महासंघ नेतृत्व र अध्यक्षमण्डलले आफ्नो भूमिका निर्वाह गर्न नसकेकोमा नेतृत्वप्रति पत्रकारहरुले गम्भीर प्रश्न उठाएका छन् । निर्धारित समयमै सदस्यता विवाद निरुपण गरेर निर्वाचन सम्पन्न हुने विश्वास आम पत्रकारहरुमा दिनु जरुरी छ । अतः विश्वासको वातावरणसहित महाधिवेशन सम्पन्न गरेर पत्रकार महासंघको गरिमा रक्षा गर्न सिन्डीगेटधारीहरुलाई परास्त गर्न जरुरी छ । त्यसका लागि देशभरका सम्पूर्ण पत्रकारहरुलाई यो स्वतन्त्र अभियानमा सहभागी हुन हार्दिक आव्हान गर्दछौं।’, विज्ञप्तिमा भनिएको छ।