पोखरा/
कृषिको महत्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्को आयोजनामा र मार्गि बगर टोल विकास संस्थाको स्थानिय आयोजनामा १९ औं असारे रोपाइँ महोत्सव – २०८१ पोखरा -२३ स्थित फेवा फाँटमा भव्य रुपमा सम्पन्न भएको छ।
“एक पटक हिलोमा टेकौ है” भन्ने नाराका साथ सम्पन्न महोत्सवले कृषिमा आधारित पर्यटनको सम्भावनालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।महोत्सवमा सहभागीहरूले परम्परागत तरिकाले धान रोपाइँ गर्दै रमाइलो गरेका थिए। विभिन्न सांस्कृतिक कार्यक्रमहरू, स्थानीय उत्पादन, र हस्तकलाको प्रदर्शनीले महोत्सवलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा पोखराका स्थानीय बासिन्दा, कृषक, पर्यटक, तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति देखिन्थ्यो।स्वदेशी र विदेशी पर्यटकको उत्साहजनक सहभागिताअसार १५ लाई ‘मानो खाएर मुरी रोप्ने दिन’ को रूपमा मनाइने यस पर्वमा किसानहरू धान रोप्न व्यस्त रहेका थिए भने पर्यटकहरू कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा सक्रिय देखिए। महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकले हिलो खेल्दै विभिन्न प्रतियोगितामा भाग लिए। हिले दौड, रोपाई प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, हिलो माछा समाउने प्रतियोगिता, र भलिबल प्रतियोगिताले पर्यटक र स्थानीय बासिन्दालाई मनोरञ्जन प्रदान गर्यो। हिलोमा खेल्दा विदेशी पर्यटकहरू चिन्नै नसक्ने अवस्थामा पुगेका थिए। नयाँ पुस्तालाई परम्परागत रोपाईको जानकारी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार महोत्सवले नेपालको कृषि प्रणालीबारे विदेशी पर्यटकलाई जानकारी दिएको छ भने पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो।स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा महोत्सवको भूमिकापोखरामा ११ हजार २ सय ५० हेक्टरमा धान रोपाई हुँदै आएको छ। खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई पेशाप्रति अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले कृषि पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्दै आएको छ।
“पोखरा सबै मौसमका लागि” भन्ने नारासहित हरेक वर्ष फरक–फरक ठाउँमा महोत्सव आयोजना गर्दै आएको परिषद्ले जनाएको छ।संगीतमय महोत्सवरोपाहारहरूले हातमा धानको बीउ लिँदै हिलोमा छुपुछुपु धान रोप्दै असारे गीत गाएका थिए, जसले महोत्सव स्थललाई संगीतमय बनाएको थियो। पञ्चेबाजा र लोकदोहोरी कलाकारहरूको प्रस्तुतिले महोत्सवलाई थप रौनकता प्रदान गर्यो।पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती बारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गर्दै आएको छ।
असारे रोपाई महोत्सवको विशेष आकर्षणमा चर्चित गायिका समिक्षा अधिकारीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै दर्शकहरुको मन जितेकी छिन्। असारे भाकाहरुसँगै समिक्षा अधिकारीले प्रस्तुत गरेका गीतहरुले महोत्सवलाई अझै रमाइलो बनाएको थियो।
उनका लोकप्रिय गीतहरुमा दर्शकहरुले उत्साहपूर्वक साथ दिएका थिए। समिक्षा अधिकारीको सांगीतिक प्रस्तुतीले महोत्सवको माहोललाई संगीतमय बनाउनुका साथै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो।
रोपाइ महोत्सवका तस्बिरहरू: