पोखरा /
राइड सेयरिङ एप पठाओले आफूहरुको सेवा वैध भएको बताएको छ । पोखरामा वैशाखदेखि सेवा दिन थालेको पठाओले यातायात व्यवस्था कार्यालय, गण्डकीले अनधिकृत एप नचलाउन र यात्रु ओसारपसार नगर्न भन्दै सूचना जारी गरेकोमा अस्वीकार पनि गरेको छ ।
कास्की प्रहरीले राइड सेयरिङ एपमार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ चालकलाई समातेकोमा पठाओ राइडरहरू वैध रहेकाले यसतर्फ छानविन गर्न पनि ध्यानाकर्षण पनि गराएको छ ।
गण्डकी प्रदेशमा राइड सेयरिङ सम्बन्धी कार्यविधि प्रदेश सरकारले बनाउन बाँकी छ । त्यही आधारमा यातायात कार्यालयले अनधिकृत भनेको छ । बागमती पनि त्यस्तो कार्यविधि नभए पनि राइड सेयरिङ एपमार्फत सेवा सञ्चालन भइरहेको पठाओका कार्यकारी निर्देशक असीममान सिंह बस्न्यातले बताए ।
पोखरामा आइतबार मिडियाकर्मीहरुसँगको छलफलमा पठाओ नेपालका प्रबन्ध निर्देशक बस्न्यातले यातायात कार्यालयले विगतमा भएका कानूनी अभ्यासलाई समेत अवलम्वन नगरी एकपक्षीय रुपमा राइड सेयरिङ प्लेटफर्ममाथि अंकुश लगाएको भन्दै आपत्ति जनाए ।
बस्न्यातका अनुसार ५ वर्षअघि पठाओको सेवा सुरु भएपछि यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको थियो । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३ ९४०मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त ४ पांग्रे तथा २ पांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बिमा गरी यात्री ओसारपसार गर्न सक्नेछ भनी उल्लेख भएको आधारमा नै अदालतले आदेश गरेको थियो । फैसलामा पेसा, व्यवसाय र रोजगारको हकअन्तर्गत स्वस्थ व्यापार व्यवसायको पनि हक पर्छ । यातायात सेवा पनि उपभोक्ताले प्राप्त गर्ने हक भएकाले गुणस्तरीय हुनुपर्ने उल्लेख छ ।
त्यसपश्चात यातायात व्यवस्था विभागले राइड सेयरिङ बन्द नगराउन २०७६ फागुन २९ गते सूचना जारी गर्यो । विभागले उच्च अदालत पाटनको फैसलालाई आधार बनाई सोहीअनुसार काम गर्न समेत आफू मातहतका कार्यालयको ध्यानाकर्षण गराएको थियो । बस्न्यातले पोखराको यातायात व्यवस्था कार्यालयले यातायात विभागको सो आदेशलाई समेत मध्यनजर गर्दै यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुको साटो सिधै बन्द गराउन अग्रसर हुनु उचित नभएको बताए । पठाओ कम्पनी कानुनअनुसार दर्ता भई सञ्चालन भइरहेको बस्न्यातले सुनाए ।
त्यसो त गण्डकी प्रदेश सरकारको यातायात सम्बन्धी ऐन र नियमावलीमा पनि राइड सेयरिङ सम्बन्धी व्यवस्था छ । त्यस्तो व्यवस्था बागमती प्रदेशमा पनि रहेको बस्न्यातले सुनाए । ‘गण्डकीमा जे छ, बागमतीमा पनि त्यही हो,’ उनले भने, ‘काठमाडौंमा जसरी राइड सेयरिङ वैध हो, पोखरामा पनि त्यसै अनुसार हो,’ उनले भने । गण्डकीमा राइड सेयरिङ सम्बन्धी कार्यविधि बन्न बाँकी रहेजस्तै बागमतीमा पनि बनिनसकेको उनले बताए ।
बस्न्यातले पठाओले कम्पनीको कारोबार अनुसार कर तिरिरहेको, यात्रु र चालकलाई बिमा गरेको लगायत जानकारी पनि दिए । ‘टेक कम्पनीहरुमध्ये सबैभन्दा धेरै भ्याट तिर्नेमा पहिलो सम्भवत पठाओ हो,’ उनले भने । उनले कार्यविधि छिटो बनाइदिन प्रदेश सरकार र सम्बन्धित निकायहरुलाई यसअघि देखि नै आग्रह गर्दै आएको बताए ।
पोखरामा पठाओ सुरु गर्नुअघि प्रहरी, प्रशासन लगायतलाई जानकारी गराइएको पठाओका सूचना तथा सञ्चार विज्ञ विष्णुकान्त घिमिरेले बताए । उच्च अदालत पाटनको परमादेश, यातायात विभागको सूचना र प्रदेशका यातायात ऐन, नियमावली अनुसार नै राइड सेयरिङ वैध भएको उनको भनाइ थियो ।
बस्न्यातका अनुसार अहिले पोखरामा दैनिक ५ सय जनाले पठाओ एपमार्फत २ पांग्रे सवारी साधनको सेवा लिइरहेका छन् भने ४ पांग्रे अर्थात ट्याक्सी सेवा लिनेको संख्या औसत दैनिक डेढ सय छ । पठाओ २ पांग्रे राइडरको मासिक कमाइ ६० हजार रुपैयाँ र ४ पांग्रेका लाखभन्दा बढी हुने गरेको पनि बस्न्यातले सुनाए ।