पोखरा /
पोखरा काजीपोखरी १४ स्थित कालिका बहुमुखी क्याम्पसलाई गुणस्तर मापन तथा प्रत्यायन (क्युएए) को प्रमाणपत्र प्राप्त भएको छ ।
विश्वविद्यालय अनुदान आयोग (युजिसी) सानोठिमी भक्तपुरको शैक्षिक गुणस्तर मापन तथा प्रत्यायन परिषद्को सिफारिसमा गत जेठ ३ गते निर्णय गरी असार १२ गते क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गरेको हो ।
लामो समयदेखिको मिहिनेत र प्रयासपछि, सबै चरण पार गरी क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख बिरन्जी गौतमले बताए । क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकाले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ ।
‘शिक्षण पद्धतिमा सुधार ल्याउन सके, नतिजा समयमै प्रकाशित भएका तथा ४ वर्षे भनेर तोकिएको कोर्स ४ वर्षभित्रै पूरा गर्न सके शिक्षा क्षेत्रमा विकास हुन्छ’ गौतमले भने, उद्योग, सरकारी र शैक्षिक संस्थाबिच समन्वयन भएमा बेरोजगारी समस्या कम हुने थियो । उद्योगले कस्तो जनशक्ति खोजेको छ शैक्षिक संस्थाले त्यस्तै जनशक्ति उत्पादन गर्नसक्नुपर्छ । ’क्याम्पसमा बिएएलएलबि, बिसिएम र बिएएचएम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।
लामो समयको निरन्तर मिहिनेत, समुदायको साथ र सहयोगका कारण क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले बताए । आगामी दिनमा थप विषयका कक्षाहरू सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको उनको भनाइ छ ।
लामो समयको निरन्तर मिहिनेत, समुदायको साथ र सहयोगका कारण क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले बताए । आगामी दिनमा थप विषयका कक्षाहरू सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको उनको भनाइ छ ।
‘यो ऐतिहासिक सफलता हो तर पूर्ण सफलता भने होइन । थप सफलताका लागि मिहिनेत र प्रयास निरन्तर गर्नुपर्छ । क्याम्पसको सफलताका लागि निरन्तर लागिरहने छु’ उनले भने । क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायत अन्य सुविधा प्राप्त हुने गर्छ । वि.सं.२० ४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १६५० विद्यार्थी छन् । क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र सङ्कायका बिए, बिएड, बिबिएस, एमए, एमबिएस, तहको पढाइ हुँदै आएको छ ।
पोखराका क्याम्पसले धमाधम क्यूएए प्रमाणपत्र प्राप्त गरिरहेका छन् । यसअघि जनप्रिय बहुमुखी क्याम्पस, पृथ्वीनारायण बहुमुखी क्याम्पस, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र कन्या बहुमुखी क्याम्पसले गुणमापन तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।