काठमाडौँ/
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन ।
समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र ठूला किसानको पहिचान छुट्याएर आवश्यक अनुदान तथा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले किसानलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिँदै बजेटको अभावमा किसान कार्यक्रम सञ्चालन हुन नसकेको बताए। साथै, उनले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बैंक तथा वित्तीय संस्थाबाट किसानलाई सहजरूपमा ऋण उपलब्ध हुनुपर्ने बताए ।
अर्थसचिव रामप्रसाद घिमिरेले किसानलाई दिएको अनुदान र सहुलियत ऋणबारे समीक्षा गर्न आवश्यक भएको बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले छिमेकी मुलुक भारतलाई चिनीको आयात खोलिदिन भारतलाई आग्रह गरेको बताए।