सुचना, समाचार र मनोरन्जन

मनसुनजन्य विपदबाट ६२ जनाको ज्यान गयो

काठमाडौँ/

मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको ज्यान गएको छ । यस अवधिमा चार जना बेपत्ता र ९० जना घाइते भएका छन ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले यो तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एक गरी नौ जनाको ज्यान गएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच वटा घरमा पूर्णरूपमा क्षति पुगेको छ । ११ वटा घरमा आंशिक क्षति भएको छ ।

पहिरोका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी दुई जना बेपत्ता र ३८ जना घाइते भएका प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिरोले ४३ वटा घर पूर्णरूपमा क्षति भएको छ । २४ घरमा आंशिक क्षति पुगेको छ । यस्तै १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्णरूपमा क्षति हुँदा ट वटा घर आंशिक रूपमा क्षतिग्रस्त छन् ।

बाढी र पहिरोले अहिलेसम्म ८ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङबाट १९ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् ।

‘बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ’, प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले भने, ‘यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ । उनका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आकलन गरिएको छ ।’

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले भोलि सोमवारदेखि देशभर बाढीको जोखिम कम हुने जानकारी दिए । ‘आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, देशको विभिन्न ९ वटा नदी सतर्कता तहमा छ’, उनले भने, ‘क्रमिक रूपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ ।’

गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक हप्तामा देशको १ सय १० वटा ठाउँमा पहिरो गएको छ । बाढी जस्तै पहिरोको पूर्वसूचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा। सुबोध ढकालले बताए ।

‘’राजमार्गमा पहिरोको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऔँ । जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभाबी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाई पानीलाई एकीकृत गरी तर्काउनुपर्छ, उनले भने, ‘’तपाईँ बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको सङ्केत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ ।

Leave A Reply

Your email address will not be published.