सुचना, समाचार र मनोरन्जन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न संसदीय उपसमिति पुग्यो

पोखरा /

पोखरा विमानस्थलको स्थलगत अध्ययन गर्न संसदीय समिति आइतबार साँझ पोखरा पुगेको छ ।

विमानस्थल निर्माणको क्रममै त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्नेको उजुरीको आधारमा गठित राजेन्द्र लिङ्देन नेतृत्वको विमानस्थल अध्ययन उपसमिति अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण पत्ता लगाउन भन्दै पोखरा आइपुगेको हो ।

सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा अध्ययन गर्न लिङ्देनको अध्यक्षतामा १३ असारमा उपसमिति गठन भएको थियो ।

अध्ययनका लागि ११ जना सांसद र २ जना कर्मचारी पोखरा आइपुगेको उपसमितिका संयोजक लिङ्देनले अनलाइनखबरलाई जानकारी दिए ।

‘११ जना माननीय र २ जना कर्मचारी साथीहरु, गण्डकी प्रदेशको सार्वजनिक लेखा समिति र पोखराका सरोकारवालासहितको टोलीले सोमबार बिहानैदेखि विमानस्थलको स्थलगत अध्ययन र अवलोकन गर्छौं’, लिङ्देनले भने, ‘खास गरी उद्घाटन भएको यतिका समय भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण र प्राविधिक हिसाबले कहाँ कहाँ त्रुटि रहेछ भन्ने खोज्ने काम गर्ने छौं ।’

टोलीले सोमबार अध्ययन गरेर काठमाडौं फर्किने छ । काठमाडौं फर्केलगत्तै फेरि आवश्यकताका आधारमा प्राविधिक तथा विज्ञहरुलाई पनि डाकेर यसको सम्झौतादेखि निर्माण सम्पन्न भएर हालसम्मको अवस्थाबारे अध्ययन गर्ने संयोजक लिङ्देनले जानकारी दिए ।

पोखरा आएको संसदीय उपसमितिमा लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन् ।

सोमबार बिहान आयोजनाको तर्फबाट निर्माणदेखि सञ्चालनसम्मको प्रस्तुति राख्ने, त्यसपछि स्थलगत अध्ययन हुने र दिउँसो अन्तक्र्रिया गरिने अध्ययन टोलीमा सहभागी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.