पोखरा /
बाढी पहिरोका कारण कास्कीमा ३ जनाको मृत्यु भएकोप्रति नेकपा एमाले कास्की जिल्लाले दुख व्यक्त गरेको छ । जिल्ला सचिव दर्शन लामाले बुधबार विज्ञप्ति मार्फत कास्कीमा असार यता ३ जनाको मृत्यु भएको भन्दै दुख व्यक्त गरेका हुन् ।
सचिव लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति नेकपा {एमाले} जिल्ला कमिटी कास्की दुःख प्रकट गर्दछ ।
असार महिनामा कास्की जिल्लामा मात्रै ३ जनाले ज्यान गुमाउनु परेको छ । मृतक सबैमा नेकपा {एमाले} जिल्ला कमिटी कास्की भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।’
विपदको घडीमा उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रहरुको ध्यानाकर्षण समेत गराइएको छ । सचिव लामाले विज्ञप्तिमार्फत पार्टीका सबै कमिटी, जनसंगठनलाई उद्धार र राहतका कार्यमा संलग्न हुन निर्देशन दिएका छन् ।
जिल्लाका जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनीकरण तर्फ गम्भीर हुन पनि एमाले कास्कीले सरकारका सुरक्षा निकायलाई आग्रहसमेत गरेको छ ।