काठमाडौं /
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन्।
मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति २०२४/२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्। उनले पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर काम गर्ने बताए। क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताए। उनले भने, स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्ने छु।’
साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए। मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन्।
काठमाडौं-५ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट विजयी पौडेल पहिलो पटक मन्त्री बनेका हुन्।