सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

पोखरा/
पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं।२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु।६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरे ।

प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताए । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडा स्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रमहरू मार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उनले बताए ।

कृषि उपजको बजारीकरणका लागि समेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उनले बताए । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको उल्लेख गर्दै उनले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको नगरप्रमुख आचार्यले बताउनुभयो । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोध बहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । वडा नं।२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताए । यस प्रकारका प्रोत्साहन कार्यक्रमहरूले कृषकहरूलाई पेसा प्रति आकर्षण बढाउने उनले बताए ।

यस वर्ष पोखरा महानगरपालिका वडा नं २६ मा ४३९ रोपनी र वडा नं २७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । सोमबार वडा नं २६ का १२३ जना कृषकहरूलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ जना कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.