सुचना, समाचार र मनोरन्जन

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ वेपत्ता

काठमाडौँ/

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । दुई बालबालिकासहित ६ जना घाइते छन् ।

Gokarna Karki

गएराति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए ।

उनका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् । उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो ।

रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार यो विवरण घटनास्थलमै रहेको प्रहरी टोलीले टिपाएको अद्यावधिक हो । घटनास्थलमा इलाका प्रहरी पोष्ट आठबिसकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली तत्कालै खटिएको थियो ।

प्रहरी टोलीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्बर १२ को भिमचौरमा गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको छ ।

आज बिहान साढे चार बजेतिर सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको थप टोली घटनास्थल प्रस्थान गरेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको नेतृत्वमा चारवटै सुरक्षा अंगका प्रमुख र रेडक्रसको पदाधिकारीको टोली राहत सामग्रीसहित घटनास्थलस्थल प्रस्थान गरेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.