रौतहट/
रौतहटमा जथाभाबी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो।
आरोपीहरूले विद्युत्को पोलबाट जथाभाबी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का चुनिलाल पासवानको आफ्नै खेतमा काम गरी रहेको अवस्थामा मृत्यु भएको थियो।
पासवानको मृत्यु पछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलवार रामदरेश र गुल्टेन माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
गत सोमवार पासवानको मृत्यु भएलगत्तै रामदरेश राय यादव , गुल्टेन राय यादव फरार रहेका छन् । उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।