सुचना, समाचार र मनोरन्जन
Sarangi

फोटोग्राफर संघको स्थापना दिवसमा रक्तदान

पोखरा /

पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४३ औं स्थापना दिवसको अवसरमा भएको खुला रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले रक्तदाता विजय पहारीलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए ।

पौडेलले मानव जीवनलाई संकटका बेला आवश्यक पर्ने रगत दान गरी मानवीय कार्यमा संलग्न हुन सबैमा आग्रह गरे । संघले यस खालको कार्यक्रम गरी व्यावसायिक एकता र सामाजिक उत्तरदायित्व एकै पटक निर्वाह गरेको उनले जनाए ।

कार्यक्रममा पोखरा फोटोग्राफर संघ पोखराका आजीवन सदस्य परशुराम शर्माले संघमा आबद्ध सबै सदस्यको आपसी सहकार्यमा संस्थाले पृथक र विशिष्ट पहिचान बनाएको जनाए । कार्यक्रममा सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष सिमा कोइराला, संस्थाका पूर्वअध्यक्ष जयन्द्र राजभण्डारी, सल्लाहकार रविनाथ दाहाल, निवर्तमान अध्यक्ष जनकराज तिवारी, महिला उपसमितिका संयोजक रीता पौडेल, संघका उपाध्यक्ष भक्त तामाङ, सचिव देवानन्द पोख्रेल लगायतले बोलेका थिए ।

सो अवसरमा ६६ पटक रक्तदान गर्ने फोटोग्राफर संघका संरक्षक गणेश छवि र ५४ पटक गरेका संघका आजीवन सदस्य टीकाराम पराजुलीलाई सम्मान गरिएको थियो । कार्यक्रम पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको हो ।

Leave A Reply

Your email address will not be published.