सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओलीले माओवादीसँग पनि विश्वासको मत माग्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग विश्वासको मतका लागि अपिल गर्ने भएका छन् ।

साउन ६ गते आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

त्यसका लागि संसद् सचिवालयमा बुधबार औपचारिक पत्र पठाएका ओलीले सबै दलसँग विश्वासको मत माग्ने तयारी भएको एमाले सांसद तथा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘हामी सबै दलसँग विश्वासको मत माग्छौँ’, बर्तौलाले रातोपाटीसँग भने, ‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई मत दिनुस् भनेर आग्रह गर्छौं ।’

उनले पार्टी र नेताहरूलाई पत्र लेखेर मत माग्ने वा मौखिक रूपमा भेटेर भन्ने विषय छलफलकै क्रममा रहेपनि सार्वजनिक रूपमै अपिल गरिसकिएको बताए।

‘निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएका दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आग्रह गरेका छौँ’, बर्तौलाको भनाई छ । उनले माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरूलाई पनि विश्वासको मतका लागि आग्रह गरिएको बताए । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भएकाले तेस्रो, चौथो र पाँचौँ दलले पनि सरकारलाई समर्थन गर्दा सकारात्मक सन्देश जाने भएकाले दलहरूले यसबारेमा सोच्नुपर्ने बताए।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष समेत रहेका ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएर ३१ गते शपथ ग्रहण गरेका थिए । प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस र एमालेका १६६ सांसदको समर्थन देखाएका ओलीलाई जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताउँदै आएका छन् । त्यस्तै राप्रपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन सकारात्मक देखिएका छन् । यद्यपि राप्रपाले कुनै निर्णय भने गरिसकेको छैन । कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल र लोसपाका सांसदहरूको सङ्ख्या १८७ पुग्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १८४ सांसदको आवश्यकता पर्छ ।

माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले कांग्रेस एमालेको गठबन्धन मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजनाअनुसार भएको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.