सुचना, समाचार र मनोरन्जन

जनप्रिय बहुमुखी क्याम्पसमा गुरूहरूको सम्मान

पोखरा/

गुरूपूर्णिमा पर्वको छेको पारेर जनप्रिय बहुमुखी क्याम्पस पोखराका विद्यार्थीले गुरूहरूको सम्मान गरेका छन् ।

Gokarna Karki

गुरूहरूको सम्मान कार्यक्रमका प्रमुख अतिथि एवम् जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नास गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई गुरु मानिएकाले गुरुको सम्मान गर्नु सह्रानीय भएको बताए ।

विजुक्छेले पौराणिकशास्त्रअनुसार चार वेदका लेखक वेदव्यासको जन्मजयन्ती गुरूपूर्णिमाको दिन भएको मानिन्छ । असार शुक्ल पूर्णिमाको दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरू, शिक्षा, कला, साहित्य, सिप र प्रविधि प्रशिक्षण गराउने गुरुप्रति श्रद्धाभाव व्यक्त गर्दै यो पर्व मनाउनुको महत्व छ । उनले अनुशासित र लगनशील विद्यार्थी मात्रै भविष्यमा सफल र अब्बल हुने भएकाले गुरूको सम्मान गर्ने विद्यार्थीको भविष्य उज्जवल रहने धारणा व्यक्त गरे ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले गुरूपूर्णिमाको अवसरमा विद्यार्थीहरूले गुरूहरूको सम्मान गर्नु उन्नत संस्कारको उपज भएको बताए । खड्काले गुरूहरूले दिएको शिक्षा र ज्ञानसँगै मार्गनिर्देशन पालना गरेमा विद्यार्थीको भविष्य सुन्दर हुने विश्वास गरे ।

गुरूलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानी साक्षत परमात्मा परमेश्वरको दर्जा दिएर विद्यार्थीले खादा लगाएर केक खुवाउँदै गुरूहरूको सम्मान गरेका थिए । विद्यार्थीहरूले अज्ञानरूपी अन्धकार हटाइ ज्ञानरुपी उज्यालोले आफूहरूको जीवनलाई सफल र सार्थक बनाउन गुरूहरूले गरिरहेको योगदानको स्मरण गरे ।
सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, पूर्व निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बराल, कार्यक्रम संयोजक यमप्रसाद बरालले विद्यार्थीहरूले गर्ने माया र सम्मान नै आफूहरूको सम्पत्ति भएको भन्दै शिक्षकका लागि विद्यार्थी आफ्ना सन्तान झै प्रिय रहने बताए ।

एसोसिएसन अफ बिबिए÷बिआइएम स्टुडेन्ड (एबिबिएस) ले गुरुहरूलाई सम्मान गर्दै बेलुन फुटाइ, म्युजिकल चियर र मैत्रीपूर्ण बास्केटबल प्रतियोगिताको आयोजना गरेका थिए । बेलुन फुटाउने प्रतियोगितामा निमत्त क्याम्पस प्रमुख रमेशबहादुर खड्का र म्युजिकल चियरमा उपप्राध्यापक शिलु चालिसे विजयी भएका थिए।

एबिबिएसका अध्यक्ष लक्ष्मण विकको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा उपाध्यक्ष परिवर्तन शर्माले स्वागत मन्तव्य राखेका थिए भने सचिव शोभा मल्लले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.