काठमाडौँ/
काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ । अभियानका क्रममा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइनेछ ।
खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा पुगेर दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले जानकारी दिनुभयो । आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ ।
विश्व स्वस्थ्य सङ्गठनले सन् २०१४ मै नेपाललाई पोलियो मुक्त घोषणा गरेको थियो । पोलियोमुक्त भएको १० वर्षपछि नेपालमा पोलियो भाइरस भेटिएको र यसबारे थप अनुसन्धान र परिक्षण पनि भइरहेको डा गौतमले बताए ।
पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ ।
यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डा। गौतमले बताउनुभयो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ तथा शुद्ध पानी र स्वच्छ खानामा विशेष ध्यान दिन डाक्टरको सुझाव छ ।