सुचना, समाचार र मनोरन्जन

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

काठमाडौं /

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो ।

खेलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो। निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो। अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरुमा एकआपासमा भिड्नेछन्। प्रत्येक दिन दुई खेल हुनेछ। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ।

लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्। अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ।

Leave A Reply

Your email address will not be published.