सुचना, समाचार र मनोरन्जन

नारायणगढ–बुटवल सडक निर्माण कात्तिक १५ गतेपछि पुनः शुरू हुने

नवलपरासी/

नारायणगढ–बुटवल सडक खण्डको वर्षाले रोकिएको निर्माण आउँदो कात्तिक १५ गतेपछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन शुरू भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ गतेपछि काम शुरू गर्ने गरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

सडक निर्माणका लागि यही साउन १० गते पुनः एक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएको जानकारी दिए।

निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत रहेकोमा अहिले ५२ प्रतिशत रहेको इन्जिनियर खनालले जानकारी दिए।

२०७९ सालको साउन २२ गते सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.