काठमाडौं /
राजीनामा दिएर बंगलादेशबाट भागेकी पूर्व प्रधानमन्त्री शेख हसिना अन्तिम समयमा पनि आन्दोलनकारीविरुद्ध अतिरिक्त बल प्रयोग गरेर थप रक्तपात मार्फत सत्ता कायम राख्न चाहन्थिन्। यसका लागि देश छाड्नुअघि उनले सोमबार बिहान १०स्३० बजेदेखि करिब एक घण्टासम्म विभिन्न राज्य सेनाका उच्च अधिकारीलाई दबाब दिएको बंगलादेशको प्रमुख अखबार प्रथम आलोले दाबी गरेको छ ।
अवस्था पूर्णतया नियन्त्रणबाहिर गइसकेको भए पनि उनले यो कुरा स्वीकार गर्न चाहेकी थिइनन् । पछि घरपरिवारसा सदस्यले निकै सम्झाएपछि मात्रै उनी राजीनामा दिन राजी भएकी थिइन् । त्यसपछि शेख हसिनाले जतिसक्दो चाँडो राजीनामा दिइन् र आफ्नी बहिनी शेख रेहानासँग सैन्य हेलिकप्टरमा गोप्य रूपमा देश छोडिन्।
शेख हसिनाको राजीनामा आउनुभन्दा अगाडि र पछाडिका चार घण्टाको विवरण धेरै स्रोतबाट प्राप्त भएको अखबारले जनाएको छ। पछिल्लो जानकारी अनुसार उनी भारतको त्रिपुरा राज्यको अगरतला हुँदै दिल्ली पुगेकी थिइन् । त्यहाँबाट उनी बेलायत जाने सम्भावना छ ।
आइतबार आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेर १०० जनाभन्दा धेरैको ज्यान जाँदा पनि शेख हसिनाले विद्यार्थी र जनताको आन्दोलनलाई सम्हाल्न सकिनन् । स्थिति बुझेपछि उनका एक सल्लाहकारसहित केही नेताले आइतबार राती शेख हसिनालाई मनाउन खोजेका थिए ।
उनीहरुले सेनालाई सत्ता हस्तान्तरण गर्न सुझाव दिएको बताइएको छ । तर उनले स्वीकार गर्न चाहिनन् । उनले सोमबारबाट कर्फ्यू कडा गर्न निर्देशन दिइन् । बिहानैदेखि कर्फ्युलाई कडाइ गर्ने पहल गरिए पनि आन्दोलनकारीले बिहान ९ बजेदेखि नै विभिन्न स्थानमा कर्फ्यू तोड्न थालेका थिए । १० बजेपछि आन्दोलनकारीहरू ढाकाका विभिन्न ठाउँमा भेला हुन थाले ।
स्रोतका अनुसार बिहान साढे १० बजे तीनै सेनाका प्रमुख र प्रहरी महानिरीक्षक {आईजीपी}लाई प्रधानमन्त्री निवास गणभवनमा बोलाइएको थियो । उनले सुरक्षा निकायले स्थितिलाई सम्हाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।
प्रहरी महानिरीक्षकले प्रहरी लामो समयसम्म यस्तो स्थितिमाथि नियन्त्रण राख्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । शीर्ष अधिकारीहरूले हसिनालाई यो अवस्था बल प्रयोग गरेर सम्हाल्न नसकिने बताउन खोजेका थिए । तर शेख हसिनाले त्यो स्वीकार गर्न चाहिनन् । त्यसपछि अधिकारीहरूले शेख रेहानासँग अर्को कोठामा छलफल गरे।
उनलाई शेख हसिनालाई अवस्था बुझाउन भनियो । त्यसपछि शेख रेहानाले दिदी शेख हसिनासँग छलफल गरिन् । तर उनी सत्तामा रहिरहन कटिबद्ध थिइन्। यही बीचमा एक शीर्ष अधिकारीले विदेशमा रहेका हसिनाका छोरा सजिब वाजेद जोयसँग पनि कुरा गरे। त्यसपछि जोयले आमासँग कुरा गरे। त्यसपछि शेख हसिना राजीनामा दिन राजी भइन् । त्यसपछि पनि उनी राष्ट्रका नाममा सम्बोधन गरिएको भाषण रेकर्ड गर्न चाहन्थिन्।
त्यतिन्जेलसम्म शाहबाग र उत्तराबाट ठूलो संख्यामा विद्यार्थीहरू गणभवनतर्फ प्रस्थान गरेको गुप्तचर सूचना प्राप्त भयो। दूरीलाई हेर्दा ४५ मिनेटमा आन्दोलनकारीहरू शाहबागबाट गणभवनसम्म पुग्न सक्ने अनुमान गरिएको थियो । यदि भाषण रेकर्ड गर्न अनुमति दिइयो भने सरकारी भवन छोड्ने पर्याप्त समय बाँकी रहने अवस्था रहेन । त्यसपछि हसिनालाई भाषण रेकर्ड गर्न समय नदिई भाग्ने तयारीका लागि ४५ मिनेट समय दिइएको थियो ।
त्यसपछि शेख हसिना आफ्नी बहिनी रेहानासँग तेजगाउँको पुरानो विमानस्थलको हेलिप्याडमा आइन् । उनीहरुको केही सामान त्यहाँ ल्याइएको थियो । त्यसपछि उनीहरु बंगभवन गए । त्यहाँ राजीनामाको औपचारिकता पूरा गरेपछि शेख हसिना आफ्नी बहिनीसँगै सैन्य हेलिकप्टरमा भारत गएकी थिइन् ।
ढाकाबाट उडेपछि उनको विमान भारतको त्रिपुराको अगरतलाको बीएसएफ हेलिप्याडमा अवतरण गरियो। त्यसपछि उनी दिल्ली गएको भारतीय मिडियामा खबर छ । इन्डिया टुडेको रिपोर्ट अनुसार शेख हसिना स्थानीय समय अनुसार ५स्३६ मा नयाँ दिल्ली नजिकै गाजियाबाद {उत्तर प्रदेश} मा रहेको भारतीय सेनाको हिन्डन एयर बेसमा अवतरण गरेकी थिइन् । उनलाई भारतीय सेनाका एक अधिकारीले स्वागत गरेका थिए । त्यहाँबाट उनी लण्डन जान सक्ने बताइएको छ ।
अवामी लिगकी अध्यक्ष शेख हसिनाले यस वर्षको जनवरी ११ मा लगातार चौथो पटक प्रधानमन्त्रीको सपथ लिएकी थिइन् । यसअघि उनी सन् १९९६ मा प्रधानमन्त्री बनेकी थिइन् । सन् २००१ मा बिएनपीले चुनाव जित्दा अवामी लिग विपक्षी दल बन्यो । त्यसपछि शेख हसिना संसदमा विपक्षी दलको नेता बनिन् ।
त्यसपछि सन् २००८ मा नवौं राष्ट्रिय संसदको निर्वाचन जितेर शेख हसिना प्रधानमन्त्री बनेकी थिइन् । पाँच वर्षपछि २०१४ मा एकतर्फी चुनाव भयो । १५३ सांसद निर्विरोध भए । त्यो निर्वाचन {दशौं संसद} मा विपक्षी दलहरूले भाग लिएनन् । शेख हसिना र उनका सहयोगीहरूले मिलेर सरकार बनाए।
२०१८ मा उनी विवादास्पद ११ औं राष्ट्रिय संसदको चुनाव मार्फत फेरि प्रधानमन्त्री बनिन्। अघिल्लो रात मतपत्रमा छाप लगाएको आरोपका कारण यो निर्वाचन ‘नाइट भोट’ भनेर चिनिन थाल्यो । गत जनवरीमा भएको १२ औं राष्ट्रिय संसदको निर्वाचनमा पनि विपक्षी दलहरुले भाग लिएनन् ।
आफ्नै दलका नेताहरुलाई स्वतन्त्र उम्मेदवार बनाएर ‘डमी’ प्रतिस्पर्धाबाट उनी फेरि प्रधानमन्त्री बनिन् । विपक्षीले यो निर्वाचनलाई ‘डमी चुनाव’ भनेका छन् । त्यसको सात महिनामा विद्यार्थी आन्दोलन र जनआन्दोलनको सामना गर्दै शेख हसिनाले राजीनामा दिएर हेलिकप्टरबाट देश छाडेकी छिन् ।