सुचना, समाचार र मनोरन्जन

शान्ति कँडेल न्यौपानेको उकाली र ओराली तीज गीत सङ्ग्रहको लोकार्पण

पोखरा /

गीतकार शान्ति कँडेल न्यौपानेको तीज गीत सङ्ग्रह उकाली र ओरालीको लोकार्पण भएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिवार भएको एक कार्यक्रममा कन्या क्याम्पस पोखरामा अध्ययनरत पाँच कन्याबाट सामूहिक रुपमा उक्त कृतिको लोकार्पण गरिएको हो।

उक्त अवसरमा कृतिका लेखक शान्ति कँडेल न्यौपानेले महिला सशक्तीकरण, दिनदिनै बढ्दै गएको हत्या, हिंसा, अपहरण, दुर्घटना, लैङ्गिक विभेद, तीज पर्वमा देखिएको विकृति र समजका यथार्थ पक्षलाई आफूले आफ्ना सिर्जनामा समेटेको बताइन्।

छोराछोरीलाई राम्रो संस्कार सिकाउनुपर्ने, स्वदेशमै अवसर खोज्नुपर्ने र सरकारले राष्ट्रहितका विषयमा नीतिगत र व्यावहारिक रुपमै राम्रा काम गर्नुपर्नेमा उनले गीतका माध्यमबाट सन्देश दिएकी छन् । कृतिमा गाउँको संस्कृति, परम्परा बचाऔँ, महिला आवाज बुलन्द गरौँ, कृषिमा सुधार, स्वास्थ्यको आधारजस्ता २२ ओटा तिजे भाकाका गीतहरू समेटिएका छन् । पोखरा ८ सिमलचौर निवासी न्यौपानेका घुम्तीहरू जीवनका शीर्षकको कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको लेखकको भनाइ छ।

सानैदेखि साहित्य, सिर्जनामा रुचि राख्ने भए पनि न्यौपानेको यो पहिलो पुस्तकाकार कृति हो । कृतिको विश्लेषण गर्दै प्रा.डा. जगन्नाथ रेग्मीले कृतिमा नारी मनका भावहरू कोमल शब्दका माध्यमबाट अभिव्यक्त भएको बताए । उनले कृतिमा राष्ट्रप्रेमको भावना, समाज सुधारको चाहना, सामाजिक विकृति, विसङ्गति अन्त्यको कामनाजस्ता विषयगत विविधता रहेको स्पष्ट पारे।

लोकसाहित्यकार प्रा. डा. कुसुमाकर न्यौपानेले एउटी नारीले पारिवारिक र सामाजिक सङ्घर्ष गर्दै साहित्य क्षेत्रमा प्रवेश गर्नु र यस किसिमको सुन्दर कृतिको प्रकाशन गर्नुमा सर्जकको सफलता रहेको बताए । पारिवारिक सहयोगबाट नै हरेक उद्देश्य पूरा गर्न सकिनेमा पनि उनले जोड दिए।

कार्यक्रममा संस्थाका सल्लाहकार तारा पाखे, साहित्यकार चन्द्रावती वाग्ले तथा पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति पदमराज ढकाल र शिवालय टोल विकास संस्थाका अध्यक्ष बीना देवकोटाले गीतमार्फत लेखकलाई शुभकामना दिए।

यसैगरी शिवालय टोल विकास संस्था र शिवालय आमा समूहका दिदीबहिनीहरुले उकाली र ओराली कृतिमा रहेका तीन ओटा गीत गाउँदा तीज पर्व २०८१ आइसकेको सङ्केत दिएका थिए । कार्यक्रमको अध्यक्षता गरेका डा. विष्णुप्रसाद शर्माले लोकार्पित कृति सङ्ग्रहणीय र पठनीय भएकाले पाठकले कृति पढेर लेखकलाई पृष्ठपोषण प्रदान गर्नुपर्ने बताए ।

संस्थाका सहसचिव मदनप्रसाद बरालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव डा. भानुभक्त आचार्यले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.