सुचना, समाचार र मनोरन्जन

पोखरा–२६ को सार्वजनिक सुनुवाइ सम्पन्न

पोखरा /

सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि पोखरा २६ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमको वडा नं २६ ले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत् सार्वजनिक गरेको हो । कार्यक्रममा वडाध्यक्ष नरेन्द्र थापाले वडाको विकासको लागि भौतिक पूर्वाधारहरूको विकास मात्रै नभएर मानवीय संसाधनको विकास पनि महत्वपूर्ण भएको बताउँदै वडाले यसलाई प्राथमिकता दिएको र आगामी दिनका लागि पनि यसप्रकारका नीति तथा कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन् ।

यसैगरी वडाको कार्य प्रगतिका बारेमा वृत्तचित्रसमेत प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित वडाबासीले चालु आर्थिक वर्षमा सडक, बत्ती, सुरक्षा, स्वास्थ्य, शिक्षा, सार्वजनिक जग्गा सुरक्षालगायत विविध विषयमा जिज्ञासा राखेका थिए ।

नागरिकबाट प्रस्तुत जिज्ञासाका बारेमा स्पष्ट पार्दै वडा अध्यक्ष नरेन्द्र थापाले वडाको सार्वजनिक जग्गा, तालतलैया सम्पत्तिको संरक्षण गर्ने बताउँदै कुनै व्यक्तिको नाममा हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि वडावासीलाई सहयोग गर्न आग्रह गरे । थापाले वडाभित्र रहेको तालहरूमा सीमित संस्था तथा व्यक्तिहरूले कब्जा जमाएर लाभ लिइरहेकोमा अब सम्पूर्ण अधिकार वडा मातहत ल्याएर तालको विकास एवं सौन्दर्यीकरण गर्ने विषयमा वडा कार्यालय अगाडि बढेको बताए ।

वडाअध्यक्ष थापाले चालु आर्थिक वर्षदेखि डिजिटलमार्फत् राजस्व संकलन गर्ने बताउँदै वडा कार्यालय निर्माणका लागि टेन्डरसमेत भइसकेको जानकारी दिए । पोखरा २६ सिलिंगेमा नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसका लागि निर्माण समिति गठन गरी कार्यलाई अगाडि बढाइने जानकारी दिए ।

वडाले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका वडावासी विनोद बाबु बस्ताकोटीलाई साहसी युवाको रुपमा वडारत्न घोषणा गरी सम्मान गरिएको र उनको परिवारलाई नगद ५० हजारसहित कार्यक्रममा सम्मान गरिएको थियो ।

आफ्नो टोलमा सरसफाइ गर्न स्वयं टोलवासीको पनि जिम्मेवारी भएको बताउँदै चौपाया, कुकुर जस्ता जनावरहरू जथाभावी सडकमा नछोड्न पनि वडा अध्यक्ष थापाले आग्रह गरे । थापाले यस आर्थिक वर्षमा वडाभित्र रहेका आमा समूह, टोल विकास संस्था, युवा क्लबलगायत सामाजिक संघ संस्थाहरूलाई अभिमुखीकरण गराएर मात्रै बजेट कार्यान्वयन गर्ने जानकारी दिए ।

वडाको विकासको लागि जनप्रतिनिधि, कर्मचारी र वडावासीहरू सबैको उत्तिकै महत्वपुर्ण भूमिका रहने बताउँदै सबैलाई एकजुट भएर लाग्न र विकासलाई राजनीतिसँग नजोड्न वडाध्यक्ष थापाले आग्रह गरेका थिए । उनले गत आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ वडाले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको पनि दाबी गरेका थिए ।

भौतिक विकासमा मात्र नभई मानवीय संसाधन विकासमा पनि वडाले जोड दिएको वडाध्यक्ष थापाको दाबी :

सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका सूचना अधिकारी नवराज सापकोटाले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरू, वडाबाट सम्पादन भएका सेवा प्रवाह र विकास निर्माणको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आव २०८०÷०८१ मा वडा नं. २६ मा ३४ करोड ७ लाख २८ हजार कुल बजेट भएको जानकारी दिए । वडास्तरीय योजनाअन्तर्गत ८ करोड एघार लाख २८ हजार बजेट विनियोजन भएको र वडाबाट चालु र पुँजीगतसमेत गरी ७८ प्रतिशत भुक्तानी भएको सापकोटाले बताए ।

यसै गरी महानगरस्तरिय बहुबर्षीय ठेक्कामा गएको योजना र बजेट अन्तर्गत १६ करोड ५१ लाख रहेको बताउँदै सापकोटाले बुढीबजार देखि खराने, राखीडाँडा हुँदै सुर्के मैदानसम्मको बाटोलाई ११ करोड १७ लाख बजेट विनियोजित भएको बताए । त्यस्तै गरी प्रदेश सरकारबाट विनियोजित भएको बजेट ४ करोड ७० लाख बजेटको योजनाहरू उपभोक्ता समितिमार्फत् सम्पन्न भएको जानकारी दिइएको थियो ।

वडास्तरीय बजेट खर्च प्रस्तुत गर्दै सापकोटाले पूर्वाधार विकास {पुँजीगत} तर्फ कुल विनियोजन भएको रकम ७ करोड ४७ लाख ४८ हजारमध्ये ५ करोड ५२ लाख दश हजार २ सय ६३ खर्च भएको भएको जानकारी दिए । यसैगरी कार्यक्रमतर्फ विनियोजन भएको ६३ लाख ८० हजारमध्ये ५० लाख १७ हजार ३ सय ७५ खर्च भएको जानकारी गराइएको थियो भने २ करोड ९ लाख ३६२ मौज्दात रहेको जानकारी गराइएको थियो ।

यसैगरी वडा कार्यालयबाट भएका कार्य प्रगतिअन्तर्गत ३ हजार ७० मिटर सडक ढलान सम्पन्न भएको, २ हजार ९ सय ८७ मिटर सडक कालोपत्रे भएको, १ हजार २ सय ९ मिटर नाला निर्माण कार्य सम्पन्न भएको, २ हजार २ सय ६९ मिटर कच्ची ट्रयाक निर्माण भएको जानकारी दिइएको हो । यसैगरी ७ सय मिटर सडक ग्राभेल भएको, ३ सय १३ मिटर सिँचाइ कुलो निर्माण भएको, ८ वटा कल्भर्ट निर्माण भएको, १२ वटा सार्वजनिक एवं संस्थागत भवन निर्माण तथा मर्मत भएको सो अवसरमा बताइएको हो ।

सामाजिक सुरक्षातर्फ ४ करोड ५७ लाख २८ हजार १७० खर्च भएको जानकारी दिइयो । यसैगरी वडाभित्र ज्येष्ठ नागरिक संख्या ७ सय ९, ज्येष्ठ दलित संख्या ७४, एकल महिला संख्या ८८, पूर्ण अपांग संख्या ३२, आशिंक अपांग ३३, दलित बालबालिका ९७ रहेको बताइएको थियो । यसैगरी गत आर्थिक वर्ष असरा मसान्त सम्म विभिन्न शीर्षकबाट २ करोड ३७ लाख १५ हजार ४२२ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको हो ।

गत आर्थिक वर्षमा वडामा सामाजिक विकासतर्फ महिला सिप विकास, उद्घोषण तालिम, महिला सचेतना कार्यक्रम, क्षमता विकास तालिम कार्यक्रम, विभिन्न स्वरोजगारमूलक तालिमहरू सञ्चालन गरिएको थियो भने कृषितर्फ यान्त्रिक उपकरणहरू वितरण, मौरी घार वितरण, थोपा सिँचाइ, ५० प्रतिशत अनुदानमा विभिन्न बालीका उन्नत बिउबिजन वितरण, माटो परीक्षण शिविर सञ्चालन, माछाका भुरा वितरण, पूर्ण पशु खोप कार्यक्रम लगायत कार्यक्रमहरू सम्पन्न भएका छन् ।

वडामा स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक आरोग्य कार्यक्रम, स्वास्थ्य आमा समूह सुदृढीकरण तथा अभिमुखीकरण कार्यक्रम, वडाभित्रका निजी तथा सामुदायिक विद्यालयहरूमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य चौकीलाई आवश्यक सामग्री सहयोग, विपन्न वर्गलाई वडाको सिफारिसमा निशुल्क उपचारको व्यवस्था, स्वास्थ्य बिमाको प्रभावकारी बनाउन पहल र परिवार नियोजन घुम्ती कार्यक्रम सञ्चालन गरिएको जानकारी गराइएको थियो ।

कार्यक्रममा वडाभित्रबाट विभिन्न चरणमा माग भई आएको योजना संकलनका लागि योजना बैंकको स्थापना गरिएको छ भने यसरी संकलन भएका योजनाहरूलाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्दै जाने लक्ष्य वडाले लिएको छ । यसबाट गत आर्थिक वर्षमा ३ सय ४० योजना संकलन भएको र चालु आर्थिक वर्षमा १ सय ७६ योजना संकलन भएको उक्त अवसरमा जानकारी दिइएको छ ।

यस्तै वडाभित्र शिक्षातर्फ वडाअध्यक्षसँग बालबालिका कार्यक्रम, गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पढ्दै कमाउँदै कार्यक्रम, छात्रवृति प्रदान, वडा बाल सञ्जाल गठन, निशुल्क पाठ्यपुस्तक वितरण, भारतीय राजदुतावासमार्फत् उपलब्ध बस वडाभित्रका २ विद्यालयहरूलाई प्रदानलगायत कार्यक्रमहरूको सम्पन्न भएका छन् ।

उक्त अवसरमा पर्यटन तथा संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरू, सामाजिक विकासतर्फका उल्लेख्य कार्यक्रमहरू, वडाको सेवालाई चुस्तदुरुस्त बनाउन एकद्वार प्रणालीमार्फत् सेवा प्रवाह, नागरिक वडापत्र, गुनासो पेटिकाको व्यवस्था जनप्रतिनिधि र कर्मचारीसहितको घरदैलो कार्यक्रमका विषयमा जानकारी दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.