कास्की/
माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण सकिएर परीक्षण शुरु भएको छ । आयोजना निर्माण तर्फको सम्पूर्ण काम सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।
भोलि पेनस्टक पाइपमा पानी हालेर वेटटेष्ट अर्थात् पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने काम शुरु हुने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । त्यसपछि दुई हप्ताभित्रमा परीक्षण उत्पादन शुरु हुने उहाँको भनाइ छ । यो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा धेरै लगानी भएको छ । तीन अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका भने अन्य लगानी प्रवर्द्धक, स्थानीयबासी तथा आइपिओ जारी गरेर पूरा गरेको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो । सेती नदी जलविद्युत् आयोजना २०७७ सालको अन्तिमदेखि काम शुरु भएको थियो ।