सुचना, समाचार र मनोरन्जन

पहिरोले अवरुद्ध गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडक खण्ड सञ्चालनमा

गुल्मी/

अबिरल वर्षाका कारण हिजोदेखि अबरुद्ध भएको गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड सञ्चालनमा आएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत रुरुक्षेत्र गाउँपालिका १ रातामाटामा सडक माथिबाट पहिरो खसेपछि हिजो सडक अबरुद्ध बनेको थियो ।

रुरुक्षेत्र गाउँपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा एक्साभेटरको प्रयोग गरि सडकमा खसेको लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

सत्यवती गाउँपालिका ६ उर्लीखोला नजिकै डहरे खोलामा आएको पानीको बहाव घटेपछि सडक सञ्चालन भएको हो । आज विहान अबरुद्ध बनेको खज्र्याङ्‐रिडी सडक भने अझै सञ्चालनमा आएको छैन । खर्ज्याङ‐रिडी खण्डको बीच भागमा चट्टान सहितको पहिरो खसेपछि यो सडक दुई दिनदेखि अबरुद्ध बनेको हो ।

लगातार पानी परिरहेकाले पहिरो पन्छाउन समस्या परेको प्रहरीले जनाएको छ । वर्षा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

वर्षाका कारण तम्घास आउने दुई दर्जन भन्दा बढी ग्रामिण सडकहरु समेत अबरुद्ध बनेका छन् । यसैबीच, वर्षाका कारण थप जोखिम बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन र सुरक्षित ठाउँमा बसोवास गर्न आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.