सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्कीको उम्मेदवारी घोषणा

पोखरा/
पोखराको सबैभन्दा जेठो र पुरानो संस्था पोखरा उद्योग वाणिज्य संघको यही भदौ २८ र २९ गते हुने ३५ औँ महाधिवेशन तथा ७० औँ वार्षिक साधारण सभाको छेको पारेर गोकर्ण कार्कीले प्यानलबिना नै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पोखरामा विहीबार आयोजित पत्रकार सम्मेलनमा हालका वरिष्ठ उपाध्यक्ष कार्कीले आफ्ना प्रतिवद्धतासहित आगामी २ वर्षे कार्यकालको अध्यक्ष पदको उम्मेदवारी सार्वजनिक गरेका हुन् । यसअघि भदौ १ गते अर्जुन पोखरेलले पदाधिकारीको प्यानलसहित उम्मेदवारी घोषणा गरेका कारण उनले पनि प्यानल नै सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । कार्कीले कसैलाई पाखा, कसैलाई काखा नगरी आम उद्योगी व्यवसायीहरूसँग आफ्नो फराकिलो परिचय र पहिचान रहेको भन्दै प्यानलको आवश्यकता नरहेको बताए ।

संघमा २०५५ सालदेखि साधारण सदस्यका रूपमा प्रवेश गरेका कार्की २०७३ सालमा स्वतन्त्र रूपमा चुनाव लडी उद्योग उपाध्यक्षमा निर्वाचित भएका थिए । लामो समयदेखि उद्योगी व्यवसायीको हकहितका लागि निरन्तर इमानदारीपूर्वक काम गरेका कार्कीले स्वाभाविक प्रक्रिया अनुसार वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा दाबी गरेका हुन् । सहकार्य र सहयोगका लागि आफू तयार रहेको कार्कीले बताए ।

पत्रकार सम्मेलनमा कार्कीले संघका वर्तमान गतिविधिहरूलाई निरन्तरता दिने र सामाजिक उत्तरदायित्वपूर्ण व्यवसाय प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बदलिँदो परिस्थितिमा शिक्षा, स्वास्थ्य, पर्यटन, र कृषिलाई प्राथमिकता दिने, औद्योगिक वातावरण निर्माणका लागि तीन तहका सरकारहरूसँग सहकार्य गर्ने, तथा व्यवसायिक पलायन रोक्न दीर्घकालीन उपायको खोजी गर्ने योजना प्रस्तुत गरेका छन् ।

कार्कीले पोखरालाई नवप्रवर्तन (स्टार्टअप) को केन्द्र बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्ने, उद्योगी व्यवसायीहरूको समस्याहरू समाधान गर्ने तथा संघको सचिवालयलाई प्रविधिमैत्री बनाउने योजना पनि अघि सारेका छन् ।

उम्मेदवारी घोषणा गर्दै कार्कीले भने, ‘संघको नेतृत्वमा निरन्तरता आवश्यक छ, र म यस अवसरलाई आफ्नो अनुभवलाई अझै प्रभावकारी ढङगले प्रयोग गर्न चाहन्छु । ’ उनले पोखरामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन, विमानस्थल सञ्चालन सुनिश्चित गर्न र पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सहरको रूपमा विकास गर्नका लागि तीनवटै तहका सरकारहरूसँग सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.