पोखरा/
हिन्दु नारीहरो महान चाड हरितालिका तीजेको अवसरमा पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा भव्य रूपमा चमेली कार्यक्रम आज आयोजना हुँदैछ। महिला सशक्तिकरण र उद्यमशीलतालाई केन्द्रमा राखेर आयोजना गरिएको यो कार्यक्रमले महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई मञ्च दिने उद्देश्य राखेको छ। कार्यक्रमको आयोजना एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्ट्स पोखराले गरेको हो।
“तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गर” भन्ने सन्देशसहित सुरु हुने यस कार्यक्रममा विभिन्न बहसमूलक सत्र, फेसन शो, र सांगीतिक प्रस्तुतिहरू रहनेछन्। लैङ्गिक समानता र पहिचानमा केन्द्रित बहसमा अभिनेत्री गौरी मल्ल, ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठ, र एक जना पुरूष सहभागी हुँदैछन्। नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बहसको सहजीकरण गर्नुहुनेछ।
फेसन शोमा “रेडियन्ट स्टाइल्स बाइ शोभा केसी” र “ब्राइडल वेयर” का डिजाइनहरू प्रदर्शन गरिनेछन्। सांगीतिक कार्यक्रममा हार्मेनी पोखराको विशेष प्रस्तुति रहनेछ, जसले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ।
कार्यक्रमको अर्को विशेष आकर्षण भनेको महिलाहरूले उत्पादन गरेका हस्तकला र कस्मेटिकको स्टलहरू हुन्, जहाँबाट सहभागीहरूले किनमेल र उद्यमशीलता सम्बन्धी जानकारी लिन सक्नेछन्। साथै, महिलाहरूको स्वास्थ्य परीक्षण र काउन्सिलिङ सेवा पनि प्रदान गरिनेछ, जसले महिलाहरूको स्वास्थ्य र कल्याणप्रति जागरूकता बढाउनेछ।
प्रबन्ध निर्देशक शोभा केसीका अनुसार, तीज पर्वलाई परम्परागत नाचगानभन्दा फरक रूपमा मनाउने यो प्रयासले महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहित गर्न, उनीहरूको समस्या र चुनौतीबारे बहस गर्न, र उनीहरूको सृजनात्मक उत्पादनलाई प्रदर्शन गर्ने अवसर दिनेछ।
एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी पोखराले सन् २०१२ देखि पोखरामा एअर होस्टेस तालिम केन्द्रको रूपमा काम गर्दै आइरहेको छ, जसले यसपटकको तीजलाई नयाँ र अर्थपूर्ण बनाउने प्रयास गरेको छ।