सुचना, समाचार र मनोरन्जन

तीज महोत्सव–२०८१: पोखरामा पर्यटन र संस्कृतिको सरगम

पोखरा/

हरितालीका तीजलाई पर्यटनसँग जोड्न पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ आयोजना हुने भएको छ। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले भदौ २१ र २२ गते लेकसाइडस्थित बाराहीघाटमा दोस्रो संस्करणको यस महोत्सव गर्न लागेको हो। टेवानका अध्यक्ष कमला गिरीले ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महोत्सवको उद्देश्य प्राचीन नेपाली संस्कृति, कला, र धर्मलाई प्रवर्द्धन गर्दै पर्यटनलाई सशक्त बनाउनु रहेको जानकारी दिइन्।

महोत्सवका क्रममा विविध सांस्कृतिक कार्यक्रमहरू, तीज गीत प्रतियोगिता, खेलकुद, र पर्यटनसम्बन्धी बहसहरू गरिनेछन्। कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाका अनुसार, पहिलो दिन सांस्कृतिक झाँकीसहितको ¥याली बाराहीचोकबाट सुरु भई नेपाल ट्रष्टको चौरमा औपचारिक उद्घाटन गरिनेछ। उद्घाटनपछि तीज गीत प्रतियोगिता र सांस्कृतिक प्रस्तुति हुनेछ।

दोस्रो दिन खेलकुदका कार्यक्रमसँगै महिला सशक्तीकरण, पर्यटन र संस्कृतिका विषयमा विशिष्ट व्यक्तित्वबीच छलफल हुनेछ। छलफलमा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री खुस्बु ओली, र डा. राजु अधिकारीले आ-आफ्ना विचार प्रस्तुत गर्नेछन्। प्रतियोगितामा हालसम्म १६ समूहले दर्ता गरिसकेका छन्, जसमा सहभागीहरूले पर्यटन प्रवद्र्धन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने तीज गीत प्रस्तुत गर्नेछन्।

प्रतियोगिताका विजेताले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रथम, दोस्रो, र तेस्रो स्थानमा रहनेले क्रमशः रु ३० हजार, रु २० हजार, र रु १५ हजार नगद पाउनेछन्। साथै, सान्त्वना पुरस्कारस्वरूप १० समूहलाई रु पाँच हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्ने समूहहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको संस्थाका निवर्तमान अध्यक्ष रेणु थापा, उपाध्यक्ष प्रभा सुवेदी, र सचिव शोभा अधिकारी पौडेलले बताए। टेवानका सल्लाहकार तथा वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई मात्र पर्यटन राजधानी घोषणा गरेर नहुने भन्दै, सरकारले स्पष्ट कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए। सल्लाहकार बोबरजंग गुरुङले पदमार्गहरूको संरक्षण र विस्तारलाई महत्त्व दिँदै हालै सार्वजनिक गरिएको गुरुङ सम्पदा पदमार्गलाई उत्कृष्ट पर्यटकीय विकल्पका रूपमा अघि सारे।

यो महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने र तीज पर्वलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.