सुचना, समाचार र मनोरन्जन

अर्जुन पोखरेल नेतृत्वमा समृद्ध पोखरा उद्योग वाणिज्य संघको सपना

  • पोखरा/

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन नजिकिँदै गर्दा व्यवसायिक नेतृत्वका लागि अर्जुन पोखरेलले आफ्नो प्यानलसहित निर्वाचन अभियानलाई तीव्र बनाइ रहेका छन्। भदौ २८ र २९ गते हुने महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ, जसका लागि पोखरेलले आफ्नो अनुभव र प्रतिवद्धताहरु पुनः व्यवसायीहरूसमक्ष प्रस्तुत गर्दै आगामी नेतृत्वको दावी गर्दै छन्।

शनिबार पोखरामा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा अध्यक्षका प्रत्यासी पोखरेलले भने, “३४ औं महाधिवेशनमा मैले हारको सामना गरे पनि त्यो अनुभवलाई लिएर पुनः तपाईँहरूसमक्ष आएको छु। म हारबाट विचलित भइन्, बरु अब अझ सशक्त टिम लिएर संघको समृद्ध भविष्य निर्माण गर्न दृढ छु।” पोखरेलले विगतको हारलाई सिकाइको रुपमा लिएर, यसपटक आफ्नो अनुभव र सामूहिक प्रयासबाट संघलाई नयाँ उचाइमा पुर्याउने योजना अघि सारेको बताउनुभयो।

पोखरेल प्यानलबाट उपमहासचिवका उम्मेदवार बालकृष्ण कोइरालाले संघलाई बलियो र दिगो बनाउन व्यवसायीहरुको घरदैलोमा पुगेको बताउँदै भने, “व्यवसायीहरुको समस्या समाधान गर्न व्यक्तिगत प्रयास भन्दा सामूहिक टिमको प्रयास महत्वपूर्ण छ। त्यसैले हामीले १६ बुँदे प्रतिवद्धतापत्रसहित संघको सुदृढीकरणमा लाग्ने छौं।”

पोखरेल प्यानलले वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ (निर्विरोध), कर्पोरेट सदस्य बन्दना केसी, औद्योगिक सदस्य एकनारायण गौतम, र राम कँडेल (कर्पोरेट सदस्य) लाई अघि सारेको छ। यी सबै उम्मेदवारहरुले व्यवसायीहरुको समस्यामा प्रत्यक्ष रुपमा काम गर्ने अठोट व्यक्त गर्दै संघको भविष्य सुनिश्चित गर्न आफूहरु कटिबद्ध रहेको जनाएका छन्।

पोखरेल प्यानलको मूल उद्देश्य व्यवसायीहरुको समस्या समाधान गर्दै सुस्ताउन थालेको पर्यटन क्षेत्रलाई चलायमान बनाउनु हो। “हामी केवल विजयी मात्र होइन, संघको समृद्ध भविष्यको निर्माण गर्न कटिबद्ध छौं। यो यात्रा कुनै एक व्यक्तिले सम्भव छैन, तर सामूहिक टिमको प्रयासले सम्भव छ,” पोखरेलले भने।

यही भावनालाई आत्मसात गर्दै पोखरेल प्यानलले व्यवसायीहरुको साथ र विश्वास जित्ने गरी आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउन सन्देश दिएको छ।

“सिंगो टिमको प्रयासले संघलाई बलियो बनाउँछ। एकल प्रयासले होइन, सामूहिक प्रयासले मात्र समृद्ध संघको परिकल्पना सम्भव छ।”- अर्जुन पोखरेल

Leave A Reply

Your email address will not be published.