सुचना, समाचार र मनोरन्जन

समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पोखरा/
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले प्रदेशले प्राप्त गरेको स्रोत साधनलाई उपयोग गरि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न समेत भनेका छन् ।

आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यन्वयन गर्न सहज होस भन्ने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमले मन्त्रालयको कामकाजमा गति बढाउने विश्वास मन्त्री थापाको छ । तीनै तहको सरकार मिलेर नै विकास सम्भव भएकाले एक्लै गन्तव्यमा पुग्न गाह्रो पर्ने उनले उल्लेख गरे । मन्त्रालयले यसपटक शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण काम गर्ने गरि आफ्ना क्रियाकलाप तय गरेको भनाई उनको छ । व्यवहारिक शिक्षा विद्यार्थीका लागि आवश्यक भएको बताउँदै मन्त्री थापाले अभिभावक, शिक्षक र विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम तय भएको बताए ।

मन्त्रालयका सचिव प्रकाश पौडेलले विद्यार्थीको रुची अनुसारको पाठ्यक्रम पढाउन आवश्यक रहेको बताए । शिक्षाको जग स्थानीय तह नै भएकाले समन्वय र सहकार्यका आधारमा अगाडि बढ्न आवश्यक रहेको भनाई उनको छ । एक्लाएक्लै हिँडेर संघीयताको मर्मानुसार काम नहुने उनले उल्लेख गरे ।

नागरिकको घरदैलोमा नै सरकार आएको आभाष दिलाउने गरि काम गर्न उनको निर्देशन छ । तीन दिन सम्म चल्ने कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, कास्की, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ र मुस्ताङको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता छ ।

Leave A Reply

Your email address will not be published.