गण्डकी /
देशको सञ्चार क्षेत्रले आज एक ऐतिहासिक मोड लिएको छ। बिमला भण्डारी गण्डकी प्रदेशको पहिलो महिला प्रेस रजिष्ट्रारका रूपमा नियुक्त भएकी छन्, जसले प्रदेशको सञ्चार प्रणालीलाई सुदृढ बनाउन अग्रसरता लिनेछिन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख उपस्थितिमा आयोजित विशेष समरोहमा भण्डारीले औपचारिक रूपमा सपथ ग्रहण गरिन्।
बिमला भण्डारीको नियुक्ति पत्रकारिता क्षेत्रको सुदृढीकरणमा एक महत्त्वपूर्ण माइलस्टोन मानिएको छ। उनी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य, र महिलाहरूले मात्र सञ्चालन गरेको रेडियो जननी की संस्थापक स्टेशन म्यानेजरसमेत रहिसकेकी छन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारीको इमानदारिता, पारदर्शिता, र नेतृत्वदायी क्षमताका कारण सञ्चार माध्यमहरूलाई व्यवस्थित बनाउन र प्रेस स्वतन्त्रतालाई नयाँ उचाइमा पुर्याउन उनी सक्षम हुने विश्वास गरिएको छ।
प्रदेश सरकारले प्रेस रजिष्ट्रार चयन गर्न टकराज गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको थियो, जसले भण्डारीसहित तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। अन्ततः मन्त्रिपरिषद बैठकले भण्डारीलाई नियुक्त गर्ने निर्णय गर्दै उनलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पेको हो।
प्रेस रजिष्ट्रारका रूपमा बिमला भण्डारीको दायित्वमा सञ्चार माध्यमहरूको दर्ता, नविकरण, वार्षिक कार्ययोजना तयार गर्ने, र सञ्चार संस्थाहरूको विकासका लागि सिफारिस गर्ने कार्यहरू समावेश छन्। यस नियुक्तिले गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको संरचनागत सुधार र प्रगतिको मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीको नियुक्तिलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै सञ्चार क्षेत्रमा पारदर्शिता र विकासको मार्गचित्र भण्डारीले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। समारोहमा उपस्थित अतिथिहरूले भण्डारीको दीर्घकालीन अनुभव र निष्ठालाई विशेष प्रशंसा गरे।
बिमला भण्डारीको यो ऐतिहासिक नियुक्ति गण्डकी प्रदेशको पत्रकारिता र सञ्चार जगतलाई अझ सशक्त र जिम्मेवार बनाउन महत्वपूर्ण साबित हुने अपेक्षा गरिएको छ।