पोखरा/
कर्मफ्लाइटस फाउण्डेसन नेपाल, पोखरा कास्कीको १० औं वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रम गत भदौ ३० गते होटेल पौवामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य माननीय देवका पहारीले कर्मफ्लाइटले गरेका कर्म साँच्चै नै पं्रसशनीय रहेको बताइन् । उनले सरकार पुग्न नसकेको स्थानमा कर्मफ्लाइट्स फाउन्डेसन पुगेर शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा बृहत् रूपमा काम गरेकोमा आफु खुसी भएको बताइन् ।
सोही कार्यक्रममा बाग्मती प्रदेशका पुर्व माननीय सभासद तथा युनिका फाउण्डेशन नेदरल्याण्डका नेपाल प्रमुख रमेश पौडेलले धेरै कर्म गर्ने संस्थाको रूपमा कर्मफ्लाइट्स फाउन्डेसन नेपालले कार्यक्रम गरेको बताउँदै सामाजिक क्षेत्रमा संस्थाले गरेको योगदान अतुलनीय रहेको बताए । साथै धैर्य र निरन्तरताले कार्यमा सफलता आएको उनले बताएका थिए ।
कार्यक्रममा गैरसहकारी संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धि बहादुर थापा, पोखरा महानगरपालिका वडा नम्वर ६ का सदस्य पवित्रा थापा, वरिष्ठ पत्रकार रविन्द्र माकाजु, सम्मानित व्यक्तित्वको तर्फबाट स्वास्थ्य दपर्ण मिडिया नेटवर्कका प्रमुख सन्दिप श्रेष्ठ, टान गण्डकी अध्यक्ष कृष्ण आचार्य, पोखरा पर्यटन परिषद्का कार्यसमिति सदस्य शेषकान्त शर्मा, ना गण्डकी अध्यक्ष अनिल केसी, रुकुम पुर्वका अभियन्ता कवि कर्मसही घर्ती मगर, प्रभात आधारभूत विद्यालयका शिक्षक कृष्णप्रसाद कोइराला, सामाजिक परिक्षक वविन नेपाली, अडिटर पदम बन्धु पोख्ररेल, कवि शिव त्रिपाठी लगायतले आ–आफ्नो मन्तव्य दिएका थिए ।
संस्थाका कार्यकारी निर्देशक प्रेम बहादुर कुँवरले संस्थाले वर्षभरि गरेका कार्यक्रमको बारेमा प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गत वर्ष मात्र संस्थाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ११ जिल्लाका विभिन्न स्थानीय निकायमा ४५० जना विद्यार्थीलाई आफन्तजन छात्रवृत्ति कार्यक्रम, २००० विद्यार्थीलाई न्यानो ज्याकेट वितरण, १० वटा विद्यालयमा पुस्तकालय स्थापना, तीनवटा विद्यालयमा अत्याधुनिक कम्प्यूटर ल्याब निर्माण, तीनवटा जिल्लाका समुदायमा बृहत् स्वास्थ्य शिविर र आँखा जाँच गरी ११० जनाको मोतीया बिन्दुको सफल शल्यक्रिया गरिएको, २० जना स्वास्थ्यकर्मीलाई प्यालियटीभ केयर तालिम, २००जना शिक्षकलाई आइसिटी सिप विकास तथा अन्तराष्ट्रियस्तरको शिक्षक तालिम, ११ वटा विद्यालयमा एष्ट्रोक्यामसहित टेलिस्कोप प्रदान, १५ परिवारलाई पाठासहितको माउबाख्रा वितरण तथा भूकम्प प्रभावित पाँच परिवारलाई अस्थाई आवास निर्माण र दुई वटा विद्यालयमा अस्ताई सिकाई केन्द्रको निर्माण लगायतका कार्यसम्पादन गरिएको कुरा निर्देशक कुँवरले बताए ।
उक्त कार्यक्रममा कर्मफ्लाइट्स फाउन्डेसन नेपालले सात जना विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरेको थियो । समानित हुनेमा रेडियो सफलता १०३.४ मेगाहर्जका प्रबन्ध निर्देशक तथा पत्रकार दुर्गा अधिकारी, स्वास्य दर्पण नेटवर्कका चितवन निबासी बरिष्ठ स्वास्थ्य पत्रकार सन्जिब श्रेष्ठ, प्याराग्लिडिङ्ग प्रशिक्षक तथा उद्यमी सुरेन गुरुङ, पन्छी सम्रक्षणकर्मी अमन सुनार, कर्म ट्रेक्सका हिमाल आरोही राजु परियार, पूर्व कर्मचारी राजेश परियार र माइक्रो ल्याब कम्पनीलाई नगद तथा दोसल्ला र सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । सोहि अवसरमा छोम्रोङ्ग पर्यटन व्यव्स्थापन समिति घान्द्रुकको माताहतमा रहनेगरि अन्नपुर्ण आधार शिविर पदयात्रामा सम्भावित विपतमा उद्दारको लागि सहयोगी हुने २ थान गुणस्तरीय स्ट्रेचर पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पोखराका कवि हिव त्रिपाठीको कविता वाचनले कार्यक्रममा रौनकता छाएको थियो । साथै कवि त्रिपाठीले संस्थाको ‘एक विद्यालय, एक पुस्तकालय’ मा करिब २५० प्रति किताब पनि सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा तथा सञ्चालन कोषाध्यक्ष रेणुका कार्कीले गरेकी थिइन् भने स्वागत भाषण संस्थाका उपाध्यक्ष शिव थापाले गरेका थिए ।