सुचना, समाचार र मनोरन्जन

पोखरामा इन्टरनेशनल बलुन फेस्टिभलको आयोजना हुदैँ

पोखरा/

पोखरामा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभलको आयोजना हुने भएको छ। नेपालको पर्यटन राजधानी पोखरामा आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ सम्म यो रोमाञ्चक फेस्टिभल सम्पन्न हुनेछ। बिहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलबारे विस्तृत जानकारी दिइएको थियो।

पोखराको लौरुकदेखि चंखपुरसम्मको करिब ३ किलोमिटर क्षेत्रमा फैलिने यो महोत्सव नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रचार–प्रसार गर्दै थप उचाइमा पुर्याउने लक्ष्यका साथ आयोजना गरिँदैछ। फेस्टिभलले साहसिक पर्यटनलाई प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास आयोजक बलुन नेपाल प्रालिका अध्यक्ष बिक्रम बाडेले व्यक्त गरे।

उनका अनुसार फेस्टिभलको विशेषताले कोरोना महामारीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागरुक बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ। करिब ३० देशका व्यावसायिक कम्पनीहरूको सहभागिता रहने यस फेस्टिभलमा हरेक दिन बिहान, दिउँसो, र बेलुका हट एयर बलुनको व्यावसायिक उडान गरिनेछ। महोत्सवमा ५ सय व्यावसायिक र ३ सय गैर-व्यावसायिक उडान हुनेछ। साथै, करिब ३ हजार पर्यटकले प्रत्यक्ष बलुन उडान अनुभव गर्ने लक्ष्य राखिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस फेस्टिभलले पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे। फेस्टिभलको आकर्षणमा हट एयर बलुनको बृहत प्रदर्शनसँगै, नेपालका परम्परागत संस्कृति, सांस्कृतिक प्रदर्शनीहरू, र विभिन्न स्वादिष्ट परिकारहरूको अनुभव पनि समावेश हुनेछ।

फेस्टिभल अवधिभर चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ भने, पोखरामा मिनी बलुन शोले महोत्सवलाई थप रोचक बनाउनेछ। आयोजकको अनुमानअनुसार फेस्टिभल आयोजना गर्न ६ करोड ८२ लाख खर्च लाग्नेछ।

बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा व्यावसायिक बलुन उडान सञ्चालन गर्दै आएको छ भने, अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान स्थापित गर्न फेस्टिभललाई भव्य र प्रभावकारी बनाउन तयारी भइरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.