सुचना, समाचार र मनोरन्जन

विद्यावतीको ‘चीत्कार’ कविताकृति लोकार्पित

पोखरा/

साहित्यकार विद्यावती शर्माको चीत्कार कविता कृतिको लोकार्पण भएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा शनिवार भएको कार्यक्रममा उनको उक्त कृति लोकार्पण भएको हो ।

कृतिको लोकार्पण गर्दै साहित्यकार, समालोचक एवंम् प्राध्यापक डा. कृष्ण भण्डारी मुमुक्षुले कविताको शक्ति भाव र शिल्पमा रहने बताए । उनले जीवन्त कविता बन्नमा सामूहिक भावना आवश्यक रहेको स्पष्ट पारे । कविताभित्र रस, अलङ्कार, ध्वनि, बक्रोक्ति, छन्दजस्ता तत्त्व रहनुपर्नेमा उनले जोड दिए । उनले विद्यावतीका कवितालाई बहुरङ्गी फूलको मालाको संज्ञा दिए ।अहिले देशभित्र जताततै चीत्कार रहेकाले शीर्षक सार्थक रहेको पनि उनले पुष्टि गरे ।

कृतिका समीक्षक सहप्राध्यापक राधाकृष्ण गैरेले विद्यावतीका कवितामा हाम्रै नेपाली समाज र संस्कृतिको प्रतिबिम्बन उतारिएको बताए । गैरेले चीत्कारलाई विविध भाव र विषयका पुष्पगुच्छाद्वारा निर्मित ढकमक्क फुलेको बगैंचाका रूपमा अर्थ्याए । उनले कृतिभित्रका कवितामा स्वदेश प्रेम, नारी जागरण, आध्यात्मिक भावना, धार्मिक विश्वासजस्ता पक्षको चित्रण गर्दै सभ्य र शिष्ट समाजको परिकल्पना गरिएको खुलस्त पारे । कवितामा रूपक, दृष्टान्त, उपमाजस्ता अलइ्कार र अनुष्टुप छन्द सबल रहेको बताए ।

कार्यक्रममा विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा. डा. जगन्नाथ रेग्मीले विद्यावतीलाई बहुआयमिक व्यक्तित्वका रूपमा चिनाए । यसैगरी लेखक संघ कास्कीका अध्यक्ष रीता अधिकारी ऋतुले गुरुआमाद्वारा रचित चीत्कारभित्रका कवितामा नारी मनका भावना पोखिएको बताइन् । उनले लोकार्पित कविताकृतिबाट जीवनबोध गर्न सकिने स्पष्ट पारिन् । साहित्यकार पुण्यप्रसाद भट्टराईले बिन्ति शीर्षकको कविता सुनाए भने प्राध्यापक विष्णुराज पराजुलीले कविता कृति तयार हुनुमा परिवारको सहयोग रहेको स्पष्ट पारे ।

कविता कृतिका लेखक विद्यावती शर्माले प्रस्तुत कविताकृति जन्मनुमा आफ्नो जन्मघरको साहित्यिक परिवेश र कर्मघरको सहयोगी वातावरण मुख्य रहेको बताइन् । पोखरेली साथीहरूसँगको सहकार्य र आफ्नो निरन्तर साधनाका कारण सिर्जनाले मूर्त रूप लिएको पनि उनले खुलाइन् । लामो समय थन्किएर रहेका कवितामध्ये अनुष्टुप छन्दका कवितालाई यस कृतिमार्फत प्रकाशन गरेको र अन्य धेरै सिर्जना प्रकाशोन्मुख अवस्थामा रहेको पनि उनले जानकारी दिइन् । प्रकाशित कृतिमा अनुष्टुप छन्दका ३० ओटा कविता सङ्गृहीत छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष हिममाया पौडेलले संस्थाले मासिक रूपमा सिर्जना वाचन, पुस्तक प्रकाशन तथा समालोचनात्मक र अनुसन्धानमूलक कार्य गर्दै आएको बताइन् । कार्यक्रमको अध्यक्षता गरेका डा. विष्णुप्रसाद शर्माले विद्यावतीका सिर्जनामा स्वच्छन्दतावादी भाव, परिष्कृत शैली र सुकोमल शब्दविन्यासको त्रिवेणी रहेको भन्दै काव्यकृति पठनीय रहेको बताए।

संस्थाले हालसम्म विभिन्न लेखकका १९ ओटा पुस्तक, ८ ओटा अनुसन्धानमूलक जर्नल र थुप्रै सिर्जनात्मक पत्रिकाको प्रकाशन गरिसकेको छ । कार्यक्रममा आउँदै गरेका चाडपर्वहरू दसैं, तिहार, छठलगायतको सन्दर्भ पारेर शुभकामना आदानप्रदान पनि गरिएको थियो ।कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष डा. हरिश्चन्द्र भण्डारीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.