काठमाडौं/
१४ जिल्लाका २५ वटा केन्द्रमा ‘रेकर्ड ब्रेक’ वर्षा मापन भएको छ । शनिबार काठमाडौं उपत्यकाका ९ केन्द्रको वर्षाको रेकर्ड तोडिएको सार्वजनिक भएको थियो । जल तथा मौसम विज्ञान विभागले आइतबार थप १६ केन्द्रको रेकर्ड ब्रेक वर्षाको विवरण सार्वजनिक गरेको हो ।
काठमाडौंको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरको गोदावरी, खुमलटार, टीकाथली, खोकना, चापागाउँ र भक्तपुरको नखेल वर्षामापन केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाका अनुसार अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेको खोपासी, पाँचखाल र धुलिखेलमा पनि रेकर्डब्रेक वर्षा भएको छ ।
त्यस्तै मकवानपुरको दामन, नुवाकोटको ककनी, पाल्पाको बल्ड्याङगढी, पाँचथरको फिदिम, सिन्धुपाल्चोकको बाहुनेपाटी र तनहुँको सखर तथा खैरेनीटारको वर्षामापन केन्द्रमा पनि अहिलेसम्मको धेरै वर्षा रेकर्ड भएको छ ।