पोखरा/
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभा पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। विश्व पर्यटन दिवसको अवसरमा आयोजित यस सभाले पोखरालाई क्रिकेट शहरको रूपमा प्रबर्धन गर्दै खेलकुद पर्यटन मार्फत अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने लक्ष्य राखेको थियो। खराब मौसमका बावजुद सभामा उल्लेखनीय उपस्थिति थियो।
सभाको उद्घाटन गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरे। मन्त्री थापाले पोखरामा यस्ता कार्यक्रमहरूको आयोजना गर्नु पर्यटन र खेलकुद प्रवर्धनका लागि महत्त्वपूर्ण कदम भएको बताउँदै, गण्डकी प्रदेशका दुई जिल्लामा प्रदेशस्तरीय क्रिकेट रंगशालाहरू निर्माणको काम अघि बढिरहेको जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले युवा खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने कुरा औंल्याउँदै, घरेलु क्रिकेट संरचना सुधार्नुपर्ने आवश्यकता बताए। उनले राखेपले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन सहजीकरण गरिरहेको बताए।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले २०२७ मा आयोजना हुने महिला विश्वकपको तयारीमा क्यान जुटिरहेको र त्यसका लागि पोखरामा पूर्वाधार सुधार आवश्यक रहेको जनाए।
सभामा आगामी वर्षको वार्षिक कार्यक्रम, बजेट, नेपाल प्रिमियर लिग सञ्चालन, एन्टी करप्सन कोड, र कोड अफ कन्डक्टलगायतका महत्त्वपूर्ण विषयहरू पारित गरियो।
साधारण सभामा पोखरा महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिबेश प्रधानाङ्गले पनि सहभागिता जनाउँदै पोखराबाट क्रिकेटको सुधार र विकासका लागि महत्वपूर्ण सुझाव प्रस्तुत गरे। उनले पोखरालाई क्रिकेटको प्रमुख केन्द्र बनाउन महानगरपालिका सधैं प्रतिबद्ध रहेको जनाउँदै क्रिकेट पूर्वाधारको थप विकासको लागि योजनाबद्ध रुपमा अघि बढ्न आवश्यक रहेको बताए।
साधारण सभामा सहभागी भई सफल बनाउन योगदान पुर्याउने सबैलाई विशेष धन्यवाद व्यक्त गर्दै सञ्जय कांत सिग्देलले यस कार्यक्रमले पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको बताए।