काठमाडौं/
थाई एयर एसियाले नेपाल उडान थालेको छ । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा बुधबार पहिलो उडान गरेको हो ।
योसँगै थाइल्यान्डमा थप एक प्रतिस्पर्धी कम्पनी आएको छ । यसअघि नेपाल एयरलाइन्स, थाई एयर र थाई लायनले नियमित उडान गरिरहेका छन् ।
थाई एयर एसियाले साताको तीन उडान गर्ने र अकुपेन्सी (सिट भराइ दर) राम्रो हुँदै जाँदा दैनिक उडान योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सान्तिसुक क्लोङचैयाले जानकारी दिए ।
एसियाली बजारमा राम्रो सञ्जाल रहेको थाई एयर एसियाले नेपालमा समेत स्तरीय सेवा दिने उनको भनाइ छ । कम्पनीका प्रतिनिधिले यसै साता भैरहवामा समेत अध्ययन गर्दैछन् ।
नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार गर्ने योजना रहेको भन्दै थाई एयर एसियाले सोही सिलसिलामा भैरहवामा अध्ययन गर्न खोजेको हो ।