धादिङ/
सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ ।
कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन । त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डको वास्तविक अवस्था यही हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाही भन्छन्, “जो कोही पनि सहजै यात्रा गर्न सक्नुहुन्छ । कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन हामी चौबिसै घण्टा तपाईँको साथमा छौँ।”
एक साताअघि चार दिन निरन्तर परेको वर्षात्का कारण पाइलैपिच्छे झरेको पहिरो र गेग्रानले सडक कतै धुलाम्मे छ । भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ । सडक विस्तारको काम गर्ने क्रममा भित्ता खारेको स्थानबाट खसेर सडकमा फिँजारिएको माटोले घाम लाग्दा धुलो उड्नु र पानी पर्दा हिलो हुनुलाई यतिबेला सामान्य मान्नुपर्छ । हरेक चालक होसियार भएर सवारी नियमको पालना गर्ने हो भने सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन सकिन्छ ।
दुईपाङ्ग्रे मोटरसाइकल–स्कुटरदेखि चार पाङ्ग्रे कार जिपसँगै ठुला यात्रु बस र दस, बाह्र, चौध पाङ्ग्रे ट्रकसम्म सबै किसिमका सवारी यही सडकमा चलेको छ । राजमार्ग एक मिनेट पनि खाली छैन । दसैँ मनाउन घर फर्किनेको भीडले पृथ्वी राजमार्ग रातदिन नै व्यस्त छ । गृह मन्त्रालयबाट जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मेवारी लिएर कार्यालय प्रवेश गर्नुअघिदेखि नै सडकको जाम हटाउन र जोखिमपूर्ण स्थानको निरीक्षणमा खटिएका प्रहरी उपरीक्षक शाहीले बताए, “यस्तो अवस्थामा सडक छेउकुनामा डोजर चलाएर कुदिरहेका सवारीलाई पर्खाउन सक्ने अवस्था छैन ।”
त्रिभुवन राजपथको सिक्रेखोलादेखि नागढुङ्गासम्म यतिबेला अत्यधिक धुलो छ । साना सवारीले झ्यालढोका बन्द गरेर हिँड्छन् । तर, मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । रातिको समयमा भने ठुला सवारीका चालक पनि अनुमानको भरमा सवारी चलाउन बाध्य छन् । पानी पर्यो भने त्यही धुलो लेदो हिलोमा परिणत भएर चिप्लो हुने निश्चित छ । फाटिएका सडक भासिनसक्ने खतरा पनि उस्तै छ ।
धुलोले रङ्मङगिएको बेला जथाभाबी उछिन्न खोज्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पीपलमोड, झ्याप्ले खोला, गणेश मन्दिरलगायत अप्ठ्यारा स्थानमा ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रुपमा ‘डयुटी’ गरिरहेको छ ।
साना तथा हलुका अधिकांश सवारीले धार्के–सीतापाइला सडक प्रयोग गरिरहेका छन् । धादिङको गल्छीबाट नुवाकोटको गँगटे, छहरे हुँदै काठमाडौँ प्रवेश गर्ने र त्यही सडक प्रयोग गरेर काठमाडौँबाट बाहिरिने सवारीको सङ्ख्या पनि कम छैन । पछिल्लो समय चित्लाङ र पालुङ भएर हेटौँडा निस्कने सडक मर्मत भएपछि पनि नागढुङ्गा नौबिसे सडकलाई सवारीको भार केही कम भएको छ । सवारीको भार कम भएसँगै जामको चुनौती पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।
नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रूपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ । जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनगर गरेर पनि साना तथा हलुका सवारीलाई धादिङको वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले सुझाव दिने गरेको छ । सडकमाथि भित्ताबाट सडकमा खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, सफा गर्दै गरेको पहिरोले नौबिसे नागङ्गा खण्डमा जस्तै पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा पनि साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण नै छ ।
नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा भएका सबै पहिरो गन्न सकिने अवस्था छैन । करिब ५० भन्दा बढी स्थानमा पानी परेपछि गाडी छेकिने किसिमको पहिरो छ । यसअघि सवारी छेकिनेगरी पहिरो झरेका स्थान, निर्माणाधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुवैतर्फ ट्राफिक प्रहरी र जनपथ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरीले समेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।
पृथ्वी राजमार्गमा दैनिक कति सवारी गुड्छन् ?
नागढुङ्गाको चेकपोष्ट हुँदै दैनिक कति सवारी काठमाडौँ भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वका बेला २० हजारसम्म सवारी आवतजावत हुने अनुमान छ । निजी सवारीबाहेक चौबिसै घण्टा सबै सवारीको नम्बरसहित तथ्याङ्क राख्ने महानगरीय प्रहरी प्रभाग नागढुङ्गासँग पनि नौबिसे नागढुङ्गा खण्ड हुँदै दैनिक कति यात्रुवाहक र मालवाहक सवारी आवतजावत गर्छन् भन्ने तथ्याङ्क छैन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खानले भने, “हामीसँग ठ्याक्कै तथ्याङ्क छैन । नागढुङ्गा र धादिङले नै यसको अनुमान लगाउन सक्छ ।”