पाल्पा/
पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दसैँघरमा बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ । तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसय वर्ष १५ वर्ष अघि स्थापना गरेको दसैँघरमा परम्परा धान्दै बडादसैँको फूलपाती भित्र्याइएको हो।
जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दसैँघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ ।
कोतघरमा दैनिक पूजाआजा गरिन्छ । प्रमुख जिल्ला अधिकारी, नोपली सेना, प्रहरी, सशस्त्र र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दसैँघरबाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको दि फेमस महिन्द्र दल गण नागपोखरी ब्यारेक गएका थिए । सैनिक र प्रहरीले सलामी दिएपछि दसैँघरमा पूजाआजासहित फूलपाती लिन गएका हुन् ।
सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्ती लगायतका पात तथा फलहरूलाई पूजी दुर्गापूजा गरेको स्थानमा भित्र्याउन प्रचलन छ।