सुचना, समाचार र मनोरन्जन

इजरायलमा दश नेपालीकाे मृत्यु : संसदबाट विशेष प्रस्ताव पारित गर्न माग

सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसंग छलफल गर्दै दुई दलले इजरायल घटनालाई संसदमा सघन रुपमा उठाउने भन्दै स्थगनको प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्तावमार्फत छलफल गर्नुपर्ने जनाएको हो।

काठमाडौं /

प्रमुख प्रतिपक्षी दल नेकपा एमाल र राप्रपाले इजरायलमा हमासको आक्रमणमा नेपालीको उद्धारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने जनाएको छ।

सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसंग छलफल गर्दै दुई दलले इजरायल घटनालाई संसदमा सघन रुपमा उठाउने भन्दै स्थगनको प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्तावमार्फत छलफल गर्नुपर्ने जनाएको हो।

इजरायलमा हमासको आक्रमणका कारण १० जना नेपालको मृत्यु भएको र त्यहा रहेका अन्य नेपालीहरुको अवस्थामा नाजुक भएको अवस्थामा सरकारले गम्भीरताका साथ चासो लिनुपर्नेमा आफूहरुको जोड रहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए।

उनले घटनापछि सरकारले अहिले केही पनि गर्न नसकेको बताए। इजरायल घटनामा सरकार निकम्मा भएर बस्न नमिल्ने उनको भनाइ छ।

इजरायलमा प्यालेस्टायनी इस्लामिक समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका दश नेपालीको निधनको निधन भएको छ।

मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

त्यस्तै पचनाली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ।

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

सोमबार परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो। यस्तै इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गत शनिबार गरेको आक्रमणमा परी हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

इजरायलमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरु विभिन्न पेशामा कार्यरत छन्।

Leave A Reply

Your email address will not be published.